सुनसरी: चाडपर्व नजिकिदै गएपछि सुनसरीमा अवैधरुपमा पटका भित्र्याउने क्रम बढेको छ । प्रहरीले पछिल्लो ४ दिनमा पटकासहित २ जनालाई पक्राउ गरेको छ भने एक जना फरार भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज १४ गते दुहबी नगरपालिका १ परासटोकी क्षेत्रमा पटकासहित ५५ बर्षीय इन्द्रबहादुर साह पक्राउ परेका छन् । गढी गाउँपालिका ३ छिटाहाका साहले किंग कोब्रा लेखिएको १४ वण्डल पटका बोरामा बोकेर आइरहेका थिए । प्रहरीले चेकजाँच गर्दा उनको साथबाट पटका फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई मुलुकी अपराध संहिता २०७४ अनुसार विष्फोटक पदार्थ सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यस्तैगरि, इटहरी ६ का २७ बर्षीय राजु साह पनि पटकासहित पक्राउ परेका छन् । भारतबाट अवैधरुपमा विष्फोटकजन्य पदार्थ (पटका)हरु ओसारपसार गरि बिक्री गरिरहेको सुचनाको आधारमा प्रहरीले उनलाई असोज १५ गते इटहरी ४ आर्मी क्याम्प नजिकबाट पक्राउ गरेको हो । को ३५ प ८७६८ नम्बरको मोटरसाइकल पछाडि २ वटा प्लाष्टिक बोरा लोड गरेको र मोटरसाइकल नजिकै थप ६ वटा बोरामा प्याक गरि राखेको अवस्थामा इटहरी प्रहरीले उनलाई पटकासहित नियन्त्रणमा लिएको जनाएको छ ।

उनको साथबाट ७६ बण्डल पटका वरामद भएको प्रहरीले जनाएको छ । उनलाई पनि विष्फोटक पदार्थ सम्बन्धी कसुरमा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, असोज १५ गते नै भोक्राहा नरसिंह गाउँपालिका ५ टपरास्थित भित्री सडकखण्डबाट पनि साइकलमा ३३ बण्डल पटका वरामद भएको सुनसरी प्रहरीले जनाएको छ । एक व्यक्तिले साइकलमा पटका ल्याउदै गर्दा प्रहरी देखेपछि ती व्यक्ति साइकल छोडेर फरार भएका थिए ।