धरान: रोट्रयाक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाको संयुक्त आयोजनामा धरान १७ स्थित फोकल्यानस्थित दिपेन्द्र स्कूलमा निःशुल्क उच्च रक्तचाप र मधुमेहको शिविर सम्पन्न भएको छ । 

असोज १६ गते शनिबार भएको निःशुल्क शिविर करिब ३ घण्टासम्म सञ्चालन भएको थियो । उक्त शिविरमा १२२ जनाको स्वास्थ्य जाँच गरिएको थियो । ती मध्ये ३० जना उच्च रक्तचापबाट पीडित थिए भने २ जना मधुमेहको रोगी भएको जाँचबाट खुलेको थियो । शिविरमा डा.केशव पाण्डेले यस रोगको जोखिम क्षेत्रमा रहेका तथा उच्च रक्तचाप र मधुमेहबाट पीडित व्यक्तिहरुलाई आफ्नो आहार र जीवनशैलीबारेमा परामर्श पनि दिएका थिए ।

Project-Photo-2

शिविरमा १२ जना रोट्रयाक्टरसहित रोटरी क्लब अफ धरान घोपाबाट रोटरिएन रोहन हडा र रोटरिएन प्रतिक श्रेष्ठको उपस्थिति रहेको थियो । स्वास्थ्य शिविरलाई वडा नम्बर १७, सृष्टि फार्मेसी, न्यूरो अस्पताल फार्मेसी र पञ्चमुखी फार्मेसीले सहयोग गरेको थियो । रोटरिएन श्रेष्ठले सहयोगी संघसंस्थाहरुलाई धन्यवाद दिएका थिए ।