धरान: प्रदेश १ को मन्त्रीपरिषद बैठकले पर्यटन बोर्ड नियमावली २०७८ स्वीकृत गरेको छ । 

हिजो बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली स्वीकृत गरेको हो । नियमावली स्वीकृत भएपछि अब सरकारले चाडै प्रदेश पर्यटन बोर्ड गठन गर्ने पनि सरकारले जनाएको छ । यसैगरि, बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ । 

यस्तै, सोही बैठकले केही स्थानीय तहहरुको वडाको संख्या र सिमाना हेरफेर सम्बन्धी स्थानीय तहहरुको प्रस्ताव संवैधानिक प्रावधान अनुसार नै संघीय सरकारलाई सिफारिश गरेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका, उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वडाको संख्या वृद्धि गर्न सिफारिश गरेको थियो । 

यसैगरि, प्रदेशको राजस्वको श्रोत अत्यन्त न्यून भएकाले राजस्व श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरिय राजस्व अनुसन्धान कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेशको आन्तरिक राजस्वको श्रोत पहिचान, वृद्धि, सम्भावनाबारे अध्ययन गर्नेछ । बैठकले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय माताहतमा रहेका ६ जना अस्थायी कर्मचारीहरुको असार मसान्तसम्म म्याद थप्ने निर्णय गरेको छ । यस्तै, १४ वटै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरि अर्को बैठकले निर्णय गरेर कार्यालय स्थापनाको प्रकृया शुरु गरिने मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।