सुनसरी:  नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा कार्यक्रमलाई सम्वोधन गर्न भोली इटहरी आउने भएका छन् । 

नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशन पछि पहिलो कार्यक्रम भएकोले दुवै कार्यक्रम महत्वपूर्ण रहेको वताए । अध्यक्ष ओली भोली विहान साढे ११ वजे इटहरी २ मा एमालेका पूराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने सुब्बाले बताए । 

ओम कोइराला नागरिक अभिनन्दन समितिद्धारा अग्रज मजदुर नेता, निष्ठावान, निस्वार्थ ब्यक्तित्व ओम कोइरालाको भब्य अभिनन्दन कार्यक्रम आयोजना गरेको हो । सोही कार्यक्रममा नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले जानकारी दिए । कार्यक्रममा मजदुर नेता ओम कोइरालाका तीन वटा पुस्तकको लोर्कापण समेत गरिने ओम कोइराला नागरिक अभिनन्दन समितिको अध्यक्ष लेखनाथ घिमिरेले बताए ।

सो कार्यक्रम पछि दिउसो १ वजे ठूलो जनता स्कुलको खेल मैदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृहत कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । इटहरी लगायत सुनसरी जिल्लाभरका हजारौ अगुवा कार्यकर्ता कार्यक्रममा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।