धरानः नेपाली कांग्रेस धरान उपमहानगरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन सम्पन्न भएको छ । 

शुक्रबार प्रदेश एकका संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोइराला, प्रतिनिधिसभा सदस्य मिना सुब्बा, निवर्तमान कांग्रेस धरानका सभापति एवं मेयर तिलक राईले नवनिर्वाचित नगर सभापतिसहित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पदस्थापन सम्पन्न भएको हो ।

कार्यक्रममा निवर्तमान कोषाध्यक्ष शुवर्ण श्रेष्ठले २०७२ देखि २०७८ सम्मको आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै उपनिर्वाचनमा धरानमा कांग्रेसले ऐतिहासिक जित हासिल गर्न सकेको बताए । उनले यो अधिवेशन पार्टीको भएको हुनाले सधै आउँदो निर्वाचनका लागि एक जुट भएर तयारी गर्न पनि आग्रह गरे । 

नेता कोइरालाले मुख्यमन्त्री भिम आचार्य अल्पमतमा परिसकेको बताए । ‘प्रदेश एकमा अब चाडै गठबन्धनको सरकार बन्छ,’ नेता कोइरालाले भने । प्रतिनिधिसभा सदस्य एवं नेतृ सुब्बाले आगामी निर्वाचनमा सबै तहमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उद्घोष गरे । उनले १४ औं महाधिवेशनले पार्टीलाई एक भएर लैजाने विश्वास व्यक्त गरे । भावनात्मक एकता बन्ने गरी नेतृत्वले आ–आफ्नोतर्फबाट भूमिका खेल्न सके आगामी दिनमा कांग्रेसले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्व गर्न सक्ने उनको भनाई थियो । 

congress1

धरान उपमहानगर समितिका निवर्तमान सभापति एवं मेयर तिलक राईले एउटा जिवनचक्र आफ्नो कार्यसमितिले पार गरेको बताउँदै आजको दिनबाट सम्पूर्ण जिम्मेवारी नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको बताए । नवनिर्वाचित कार्यसमितिले राम्रो कामहरुलाई आत्मसाथ गदै धरानमा कांग्रेसलाई बलियो पार्टीको रुपमा स्थापित गर्नुपर्नेमा निवर्तमान सभापति राईले जोड दिए । निवर्तमान सभापति राईले आफ्नो कार्यकालमा पार्टी कार्यालय निर्माण गर्न सकेको, धरान १३ स्थित वीपी स्मृति पार्क निर्माण गरिएको, प्रशिक्षण कार्यक्रम आयोजना गरिएको, गिरिराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कार र श्री चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरस्कार स्थापना गरिएको बताए । निवर्तमान सभापति राईले सबै नेता कार्यकर्तालाई एकताबद्ध बनाएर कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्नेमा जोड दिए । 

नवनिर्वाचित सभापति श्याम पोखरेलले सबैसँग सहकार्य तथा समन्वय गरेर  धरानमा कांग्रेसलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए । सभापति पोखे्रलले तिहार लगत्तै नगर समिति धरानका २० वटै वडामा संगठन विस्तार गर्न जाने उद्घोष गरे । आफ्नो कार्यसमितिले सबैलाई एक ढिक्का भएर लैजाने बताउँदै सभापति पोख्रेलले पार्टीलाई सशक्त ढंगले अघि बढाउन आफू हरदम तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धरानमा गत असोज ९ गते सम्पन्न भएको नगर अधिवेशनमा श्याम पोख्रेलको प्यानल नै विजयी भएको थियो । सभापति पोख्रेलको प्यानलमा उपसभापति पदमा नरेन्द्र कुमार राई (प्रविन) र सन्तोष लिम्बु निर्वाचित भएका छन् । यस्तै, सचिव पदमा जितेन्द्र राई र हिमाल श्रेष्ठ निर्वाचित भएका छन् भने सहसचिव पदमा यूनेश राना मगर र शिला बज्राचार्य निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने पञ्चकला राई मनोनित भएकी छिन् । कार्यक्रममा जिल्ला सचिवद्धय केशव भण्डारी र सुजेन्द्र तामाङ, जिल्ला सदस्य निरु गिरी, कांग्रेस धरानका पूर्व सभापति एवं सभापतिका प्रत्यासी किशोर राई, बुथ सभापतिद्धय लोकेन्द्र फागो र उमेश श्रेष्ठ लगायत नेताहरुले सम्बोधन गरेका थिए ।