धरान: निरन्तरको बाढी पहिरोको कारण प्रदेश नं १ मा ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । 

बुधबार साँझसम्म प्रदेशका विभिन्न जिल्लामा ज्यान गुमाउनेको संख्या ५२ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार पाँचथरमा २४, इलामा १३, धनकुटा ६, सुनसरीमा ५ जना, उदयपुरमा २ जना, भोजपुर र मोरंगमा १, १ जना मृत्यु भएको छ भने सुनसरीमा ७ जना वेपत्ता छन् । 

यसैबीच, प्रदेश नं १ मा बाढी पहिरोले ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ । मुख्यमन्त्री भीम आचार्यको अध्यक्षता बुधबार प्रदेश दैवी प्रकोप उद्दार समितिको बैठकेले यस्तो निर्णय गरेको हो । पुर्णरुपमा बाढी पहिरोले घरमहा क्षति पुर्याएको परिवारलाई घर बनाउन भुकम्पमा क्षति भए सरह ३ लाख राहत उपलब्ध गराउने पनि निर्णय गरेको छ । 

मुख्यमन्त्री आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहबीमा विजुलीको स्केटशनमा भएको समस्या तत्काल समाधान गर्न पनि निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यस्तै, बाढी पहिरोमा फसेकालाई उद्दार गर्न तथा प्रदेशभरि भएको क्षतिको विवरण संकलन गर्न पनि मातहतका विभागहरुलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री आचार्यले स्थानीय तहहरूसँग समन्वय गरि भएका सबै अवरोधहरू हटाउन सरकारका सबै संयन्त्र परिचालित हुन समेत निर्देशन दिएका छन् । पाकेको धानबालीमा भएको क्षतिको विवरण संकलन गरि कृषकका लागि राहत प्याकेज ल्याउन भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएका छन् । बैठकमा विभिन्न विभागका प्रमुखहरूले बाढी पहिरोको क्षतिबारे रिपोटिङ गरेका थिए । प्रदेश नं १ मा ४९ हजार ९ सय ४४ हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति पुगेको छ ।