धरान: स्रोत नखुलेको र बिल भर्पाई विनाको सुन र नगदसहित पक्राउ परेका दुई जनालाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ ।

हिजो बिहिबार धरान २ रत्न रोडबाट धरान १५ सगरमाथा लाइनका ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका थिए । दुवै नाताले मामा भाञ्जा हुन् । प्रहरीले मामा रामबहादुरको साथबाट १ हजार र ५ सय दरको नगद १८ लाख वरामद गरेको थियो भने भाञ्जा चन्द्रको साथबाट सुनको चुरा ५ थान वरामद गरेको थियो । चुराको कुल तौल २५८.३२० ग्राम अर्थात २२ तोला २ आना २ लाल रहेको छ । 

प्रहरीले दुवैलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको जनाएको छ । धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार सुनजस्तो देखिने धातु र पक्राउ परेका दुवैलाई राजश्वक अनुसन्धान कार्यालय पठाइएको छ । वरामद भएको नगद भने सम्पत्ति सुद्धिकरण विभाग पठाउने तयारी भइरहेको उनले बताए । ‘पैसा सम्पत्ति सुद्धिकरणमा पठाउछौ, राजश्वबाट अनुसन्धान अधिकृत आएपछि पठाउने तयारी हुदैछ,’उनले भने ।