धरान: नेपाली कांग्रेसका नेता एवं परराष्ट्र मन्त्री डा.नारायण खड्काले कम्युनिष्टको कारण देश अराजकतातिर गएको बताएका छन् ।
शनिबार कांग्रेस धरानले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले करिब दुई तिहाई बहुमत ल्याएको कम्युनिष्ट सरकारले देश चलाउन नसेकेको र मुलुक अराजकता उन्मुख भएको बताए । कम्युनिष्टको कारण अराजकता उन्मुख देशलाई कांग्रेस नेतृत्वको सरकार बनेपछि सही ट्रयाकमा हिडाएको पनि मन्त्री खड्काको दाबी थियो । ‘दुई तिहाइको कम्युनिष्ट सरकारले देश राम्ररी चलाउन सकेन, अब कांग्रेसले राज्य सञ्चालनमा आफ्नो अपरिहार्यता महशुस गरी काम गर्नुपर्ने बेला आएकोछ,’उनले भने ।
नेपालको हरेक परिवर्तनको निर्णायक भूमिकामा नेपाली कांग्रेस रहेको उल्लेख गर्दै उनले मुलुकले पनि कांग्रेस नेतृत्वको खोजेको बताए । उनले राजनैतिक परिवर्तनमा कांग्रेसको भुमिकाको चर्चा गर्दै तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा नै नेपालको लोकतान्त्रिक गणतान्त्रिक संविधानले पनि सार्थकता पाएको बताए । कार्यकर्तालाई गुट उपगुटमा नलागी एक भएर आगामी निर्वाचनमा लाग्न पनि उनले निर्देशन दिए ।
दुई तिहाईको सरकार नेतृत्व गरिरहेको केपी शर्मा ओलीले आफ्नो स्वार्थ परिपूर्ति गर्न दुई पटक संसद विघटन गरेको प्रसंग स्मरण गर्दै मन्त्री खड्काले नेपाली काँग्रेस एक भएर अगाडि बढे अबको नेतृत्व पनि नेपाली काँग्रेसको नै हुने बताए । साथै उनले काँग्रेसको राष्ट्रिय अधिवेशन आगामी मंसिर मसान्त या पुष पहिलो साताभित्र गरिसक्ने पनि दाबी गरे ।
नेपाली काँग्रेस धरान नगरसमितिका सभापति श्याम पोख्रेलको सभापत्विमा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला स्तरीय, नगर स्तरीय, प्रदेश स्तरीय र केन्द्रीय स्तरीय कार्यकर्ताको उपस्थिति रहेको थियो ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



