धरान: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको प्रदेशसभामा प्रस्तुत गरकेो विश्वासको प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल हुदैछ । 

मुख्यमन्त्री आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव पेश भएपछि सभामुख प्रदीप भण्डारीले आज मध्याह्न साढे १२ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए । साथै, उनले विश्वासको मत सम्बन्धी प्रस्तावबारे छलफल तथा मतविभाजन पनि आज नै हुने जानकारी गराएका थिए । सोही अनुरुप आज प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने तयारी छ । 

संसदीय दलको नेता र मुख्यमन्त्रीबाट शेरधन राईले राजिनामा दिए पछि नेकपा एमालेको संसदीय दलको नेता भएका आचार्य लगतै भदौ १० गते मुख्यमन्त्री पनि नियुक्त भएका थिए । संवैधानिक प्रावधान अनुसार ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ । तर, एमाले विभाजन भएर सांसदहरु नयाँ पार्टीमा गएको औपचारिक जानकारी प्रदेशसभाले भदौ २५ गते मात्र पाएको थियो । सोही अनुरुप मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन पनि ढिलाई भएको हो । विपक्षी गठबन्धनले भने विश्वासको मत लिन ढिलाई गरेर मुख्यमन्त्री आचार्यले सत्ता लम्ब्याएको आरोप लगाउदै आएको थियो । 

आचार्यले पाउलान् विश्वासको मत ?

प्रदेशसभामा विद्यमान सांसदहरुको अंकगणित हेर्दा मुख्यमन्त्री आचार्य स्पष्ट अल्पमतमा छन् । कुल ९३ जना सांसद रहेको प्रदेशसभामा ९२ जना मात्र सांसद छन् । ती मध्ये एमालेसँग सभामुखसहित ४१ जना सांसद रहेको छ । सरकार बनाउन ४७ जना जना सांसद आवश्यक पर्छ । यसहिसाबले मुख्यमन्त्री आचार्यले पनि विश्वासको मत पाउन ४७ मत आवश्यक छ । कुनै चमत्कारिक एवं नाटकीय फेरवदल नआए आचार्य मुख्यमन्त्रीबाट हट्नेछन् । 

 विपक्षी गठबन्धनमा रहेको नेपाली कांग्रेससँग २१ जना सांसद रहेको छ भने माओवादी केन्द्रसँग १५ जना सांसद रहेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीसँग १० जना र जसपासँग ३ जना सांसद छ । यी प्रमुख विपक्षी गठबन्धनको सांसदहरु जोड्दा ५० जना पुग्छ । प्रदेशसभामा संघीय लिम्बुवान राष्ट्रिय मञ्च र राप्रपा नेपालको पनि एक एक जना सांसद छन् । ती मध्ये मञ्चले विपक्षी गठबन्धनलाई सघाउने तय भइसकेको छ भने राप्रपाले कस्लाई सघाउने तय भइसकेको छैन । 

भोजपुरले फेरि पाउला मुख्यमन्त्री ?

मतविभाजनको प्रक्रियाबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाए प्रदेश प्रमुखले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिमको सरकार गठन गर्न आव्हान गर्नेछन् । यसपछि, विपक्षी गठबन्धनले सरकार गठनको लागि मुख्यमन्त्रीको नामसहित दाबी पेश गर्नुपर्नेछ । 

विपक्षी गठबन्धनमा प्रदेश १ को सरकारको नेतृत्व गर्न नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । यो सहमतिमा कुनै फेरवदल नभए मुख्यमन्त्रीमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित छ । सांसद राई भोजपुरबाट प्रदेशसभामा निवार्चित सांसद हुन् । यसअघि पहिलो मुख्यमन्त्री पनि भोजपुरबाट निवार्चित सांसद शेरधन राई  नै थिए ।