धरान: प्रदेश नं १ मा आज मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान गर्ने कार्यतालिका छ । 

प्रदेशसभामा अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले विश्वासको मत प्रस्ताव माथिको मतदानसम्म प्रतिक्षा गर्छन् कि अगावै राजिनामा दिन्छन् ? प्रदेशसभा बैठक शुरु हुनुअघिसम्म राजनीतिक वृत्तमा यो चर्चा चुलिएको छ । उनले मतदान अघि नै राजिनामा दिने पनि हल्ला छ । विश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री आचार्यले राजिनामा दिन लागेको बताइएको छ । 

मुख्यमन्त्री आचार्यका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले राजिनामा दिने बिषयमा प्रष्ट भइनसकेको बताए । यद्यपी, उनले विश्वासको मत लिने वा राजिनामा दिनसक्ने दुवै सम्भावना भने रहेको प्रष्ट पारे । उनका अनुसार मुख्यमन्त्री आचार्यले बैठकलाई सम्बोधन गर्नेछन् । त्यसक्रममा सरकारले गरेका कामहरुको बारेमा मुख्यमन्त्री आचार्यले प्रष्ट्याउनेछन् भने राजिनामा दिने सम्भावना पनि रहेको उनले बताए । कार्कीले भने,‘मुख्यमन्त्रीले वैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । अहिलेसम्म विश्वासको मत लिने कुरा नै हो, राजिनामा दिने सम्भावना पनि छ ।’ 

प्रदेश सभामा ९२ जना सांसद छन् । विश्वासको मतको लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेसँग सभामुखसहित ४१ जना सांसद मात्र छन् भने विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् । विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।