धरान: मुख्यमन्त्री भीम आचार्यले पदबाट राजिनामा दिएका छन् ।

प्रदेश १ को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पदबाट राजिनामा घोषणा गरेसँगै विश्वासको मतको लागि हुने मतदान प्रक्रिया पनि रोकिएको छ । मुख्यमन्त्रीको राजिनामा घोषणालगत्तै प्रदेश सभामुख प्रदिप भण्डारीले प्रदेशसभाको बैठक कार्तिक २३ गते मंगलबार दिनको १ बजेसम्मको लागि स्थगित गरेका छन् । 

विश्वासको मत पाउने अवस्था नबने पछि मुख्यमन्त्री आचार्यले राजिनामा घोषणा गरेका हुन् । बैठकमा सरकारले गरेको कामहरुको चर्चा गर्दै अंकगणित मेल नखाएको र १६८ को उपधारा १ अन्तर्गतको अवस्थामा नरहेकोले पदबाट राजिनामा दिएको घोषणा पनि गरे । उनले भने,‘आजै मुख्यमन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछुँ । राजिनामा दिन प्रदेश प्रमुखकोमा जान्छुँ ।’ 

मुख्यमन्त्री आचार्यले वर्तमान सरकारले गरेका राम्रा कामहरुलाई आगामी सरकारले पनि निरन्तरता दिन आग्रह गरे । उनले राम्रो काम गर्ने सरकारलाई एमालेले पुर्ण सहयोग गर्ने पनि बताए । आचार्यले भने, ‘एमालेले राम्रो काममा सहयोग गर्छ, रचनात्मक सहयोग गछौं, नराम्रो कामको आलोचना हुन्छ ।’