धरान: नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली आफै ठेगान लागिसकेको बताएका छन् ।
सुनसरी आउने क्रममा बिहिबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओली आफै ठेगान लागिसकेको कारण अब ठेगान लगाउनुपर्ने आवश्यकता नभएको बताएका हुन् । उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउनुपर्ने आवश्यकता छैन । आफै ठेगान लागिसकेको मान्छेलाई के ठेगान लगाउनु ? उहाँलाई समय, परिस्थितिले ठेगान लगाइदिएको छ ।’
अध्यक्ष नेपालले आफु डढेलधुरा पुगेर आएको उल्लेख गर्दै त्यहाँ सिंगो एमालेको जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको दाबी गरे । एमालेलाई खोज्नुपर्ने अवस्था आएको भन्दै नेपालले अन्य पार्टी छोडेर एकीकृत समाजवादीमा आउने लहर चलेको पनि बताए । ‘यो लहर देखेर कतिपय आत्तिएका छन्, र दश थरिका कुरा गरिरहेका छन्,’उनले भने ।
पत्रकारहरुले सर्वोच्च अदालतका प्रधानन्यायाधिशबारे सोधेको प्रश्नमा नेपालले गठबन्धन दलमा त्यसबारेमा छलफल नगरेको बताए । उनले समस्या समाधान गर्न प्रधानमन्त्रीले प्रयास गरिरहेको र केपी ओलीले शेरबहादेर देउवालाई परमादेश दिने सबै न्यायाधिशको राजिनामा माग्नु वाहियात भएको टिप्पणी गरे । उनले भने,‘केपी ओलीले सबैको राजिनामा माग्नु भएको छ, त्यो वाहियात हो । रिस पोख्ने काम हो । राम्रो निर्णय गर्ने, काम गर्ने व्यक्तिहरुको पक्षपोषण गर्नेहरुको ओली जहिल्यै विरोधी हुनुहुन्छ । वकिलहहरुको विरोधी, पूर्वप्रधानन्यायधिशहरुको विरोधी, बुद्धिजिविहरुको विरोधी, पत्रकारहरुको विरोधी, उहाँलाई साथ नदिनेहरुको विरोधी ।’ शुक्रबार बराहक्षेत्रमा हुने एक कार्यक्रमको लागि नेपाल सुनसरी आएका हुन् । उनी बिहिबार इटहरीमा बस्ने बताइएको छ।







