धरान: नेकपा एमालेको असन्न १० औं महाधिवेशनमा प्रतिनिधि पठाउनेबारे पटक पटक छलफल भएपनि सुनसरी निर्वाचन क्षेत्र नं १ मा सहमति हुन सकेन ।

बिहिबार पनि विभिन्न चरणमा नेताहरुबीच विभिन्न मोडलमा छलफल भएपनि सहमति जुट्न नसकेपछि जिल्ला कमिटीलाई नै जिम्मा दिइएको संस्थापन पक्षबाट वार्ता टोली सदस्य एवं एमाले प्रदेश १ सदस्य डम्बर गुरुङले जानकारी दिए । उनका अनुसार दुवै पक्षबाट संख्यामा आआफ्नो दाबी भएर छलफल भएपनि सार्थक निष्कर्षमा पुग्न सकेन । ‘सार्थक निष्कर्षमा पुग्न नसकेपछि अर्को टोलीबाट आएको प्रस्तावलाई नै समर्थन गर्दै क्षेत्र नं १ बाट प्रतिनिधि चयन गर्ने जिम्मा वैधानिक जिल्ला कमिटीलाई पठाउने र त्यहाँबाट चयन हुने नाम दुवै पक्षले स्वीकार गर्ने भद्र सहमति भयो,’नेता गुरुङले भने ।

संस्थापन इतर समुहबाट वार्तामा सहभागी पदम इस्पोले पनि वार्ता सहमति नजिक पुगे पनि हस्ताक्षर गर्ने बेलामा कुरा नमिलेको र जिल्ला कमिटीले चयन गरेको प्रतिनिधिहरुको नाममा दुवै पक्षले मान्न सहमत भएको बताए । उनले भने,‘जिल्ला कमिटीबाट जो जो नाम चयन हुन्छ, त्यसलाई मान्ने कुरामा सहमत भयौ । उम्मेदवारी परेकै छ, त्यही मध्येबाट मिलाएर लैजाने, निर्वाचन नगराउने भन्नेमा एक मत भयौं ।’