धरान: नेकपा एमालेको संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिको लागी कोटा अनुसारको सुनसरी क्षेत्र नं १ बाट ९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । 

संस्थापन पक्षका नेता तथा उम्मेदवारहरुबीच आज आइतबार छलफल गरेर महिलातर्फ ३ जनासहित ९ जनाको नाम टुंग्याएका हुन् । संस्थापनबाट खुलातर्फ प्रतिनिधिको लागी मुरारी सुवेदी, मीनकुमार सुब्बा, खम्बासिं गुरुङ, विजय राई, राम आङबुहाङ र योग्यराज खड्काको नाम टुंग्याएका हुन् । यस्तै, महिलातर्फ विणा खनाल, मञ्जु भण्डारी र लहरुमाया जिमीको नाम पनि प्रतिनिधिको लागि टुंगो लगाएको संस्थापन पक्षका नेता मोतिराज सुनुवारले जानकारी दिए । 

हिजो इनरुवास्थित पार्टी कार्यालयमा ६ जनाको खुलातर्फको प्रतिनिधि कोटामा सुनसरी क्षेत्र १ बाट ३१ जनाले उम्मेदवारी दर्ता गरेका थिए । ती मध्ये २१ जना संस्थापन पक्षका मात्र थिए । सर्वसम्मत प्रतिनिधि चयनको लागी आफुसहित अन्य उम्मेदवारहरुले नाम फिर्ता लिएको उल्लेख गर्दै नेता सुनुवारले अर्को पक्षसँग पनि सर्वसम्मत प्रतिनिधि पठाउन वार्ताको तयारी भइरहेको जानकारी दिए । 

संस्थापन पक्षले जेठ २ पक्षका असन्तुष्ट नेता तथा उम्मेदवारहरुसँग वार्ता गर्न सुनुवारको नेतृत्वमा कमिटीसमेत गठन गरिसकेको छ । अर्को समुहसँग आजै साँझ वार्ता हुने पनि सुनुवारले जानकारी दिए । हाम्रो पक्षबाट प्रतिनिधि जाने ९ जना उम्मेदवारको नाम टुंग्याएका छौ, सर्वसम्मतरुपमा प्रतिनिधि पठाउने पहल भइरहेको छ, सुनुवारले भने,‘यसको लागी अर्को पक्षसँग सम्पर्कमा छौ, र मेरो नेतृत्वमा नै वार्तामा बस्दैछौं । ’