धरान : तीन दिनअघि मंगलबार साँझ धरान १५ का सोहन श्रेष्ठ आफ्नो साथीको विरामी बुबालाई भेट्न वीपी हस्पिटल गएका थिए । उनले आफ्नो को १९ प ७०२० नम्बरको स्कुटर मेडिसिन वार्ड बाहिरको परिसरमा पार्किङ गरेर राखेका थिए ।

विरामीलाई भेट गरेर उनी करिब आधा घण्टा पछि फर्किदा भने पार्किङ गरेको ठाउँमा स्कुटर थिएन । उनले सबैतिर खोजी गरे, तर भेटिएन । उनको स्कुटर चोरी भएको निश्चित भयो । फोटो पत्रकारसमेत रहेका श्रेष्ठले स्कुटर चोरीबारे प्रहरीमा निवेदन दिइसकेका छन् । उनी भन्छन्,‘मेरो मात्र होइन, अरु थुप्रैको पनि मोटरसाइकल, स्कुटर हराएको छ ।’ अस्पताल क्षेत्रमा सिसिटिभी क्यामेरा जडान नभएकोले पनि चोरहरुलाई मोटरसाइकल र स्कुटर चोरी गर्न सहज भएको उनको बुझाई छ । ‘यति ठुलो हस्पितलमा सिसिटिभी पनि छैन रहेछ,’उनले भने ।

वीपी हस्पिटलबाट श्रेष्ठको स्कुटर चोरी भएको भोलीपल्ट बुधबार राती धरान १५ स्थित एक घरबाटै पार्किङ गरिराखेको मोटरसाइकल पनि चोरी भयो । बिहिबार राती करिब साढे ८ बजे महेश्वर ताम्ला राईको कालो र सेतो कलरको मोटरसाइकल चोरी भएको हो । उनले घर अगाडिको सडकमा पार्किङ गरि राखेको को १८ प ४५८८ नम्बरको मोटरसाइकल चोरी भएको हो । 

मोटरसाइकल, स्कुटर चोरीको घटना सबैतिर भएपनि धरानमा अलि बढी हुने गर्छ । बिशेष गरि धरानको वीपी हस्पिटल क्षेत्रबाट मोटरसाइकल चोरी हुने गरेको छ । दुई पांग्रे मोटरसाइकल र स्कुटरको ह्याण्डल लक गर्ने र चोरी हुनबाट जोगाउने सिस्टम हुन्छ । तर, चोरहरुले यो सिस्टम पनि ब्रेक गर्न सक्छन् । ह्याण्डल लक भएको थुप्रै मोटरसाइकलहरु चोरी भएको छ । यस्तै, कतिपय स्कुटरको एउटाको चाबी अर्को स्कुटरमा पनि मिल्ने गरेको छ । यसले पनि चोरलाई सहज बनाएको छ । 

जानकारहरुका अनुसार चोरी भएको मोटरसाइकललाई चोरहरुले सिमा पारी भारत पुर्याएर बेच्ने गरेका छन् । तर सबै चोरी भएको गाडी सिमा पारी पुग्छ भन्ने छैन ।गत बर्ष प्रहरीले धरानबाटै मोटरसाइकलको पाटपुर्जा झिकेर बिक्री गर्ने वर्कसप सञ्चालकहरु नै पक्राउ परेका थिए भने गएको बैशाखमा पनि धरान १५ श्यामचोकस्थित एक ग्यारेजबाट चोरीको मोटरसाइकलको पाटपुर्जा अर्कैमा हाल्दै गरेको अवस्थामा पक्राउ परेका थिए । 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले चोरीको घटनाबारे जानकारी आएको र प्रहरी टोली परिचालन भइसकेको बताए । उनले कतिपय सवारी धनीहरुले लापरवाहीपुर्वक पनि आफ्नो सवारी पार्किङ गर्ने, ध्यान नदिने कारण चोरी हुने गरेको बताए । उनले भने,‘हाम्रो टिम परिचालन भइसकेको छ।’