धरान: चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय सदस्य र पदाधिकारीहरुको नाम प्रस्ताव गरिसकेका छन् । 

बन्द सत्रले केन्द्रीय सदस्य छनौट गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । सोही अनुसार ओलीले नाम प्रस्ताव गरेका हुन् । केन्द्रीय पदाधिकारी र सदस्यहरुको नाम निर्वाचन प्रक्रिया पुरा गरेर फाइनल हुन बाँकी नै छ । तर, निर्वाचन नै भएको अवस्थामा पनि अध्यक्ष ओलीले प्रस्ताव गरेको नामहरु नै चुनिने लगभग निश्चित छ । 

प्रस्तावित पदाधिकारी र केन्द्रीय सदस्यको सुचीमा नयाँ नयाँ अनुहारहरु समेटिदा नेता भीम आचार्य घटुवामा परेका छन् । उनको नाम ओलीले प्रस्ताव गरेको पदाधिकारीहरुको सुचीमा अटेको छैन । यसअघि नवौं महाधिवेशनमा निर्वाचनबाट सचिव जितेका आचार्य प्रदेश १ इञ्चार्ज पनि थिए । तर, गए राती अध्यक्ष ओलीले प्रस्ताव गरेको पदाधिकारीहरुको नाममा आचार्य छैनन् । उनी केन्द्रीय सदस्यमा सिमित भएका छन् ।

यस्तै, आचार्यकै गृहजिल्ला सुनसरीको राजनीतिमा प्रभाव पार्ने अर्का केन्द्रीय सदस्य धर्मराज निरौला ३०१ जनाको केन्द्रीय सदस्य सुचीमा छैनन् । आचार्य र निरौला दुवै विगतमा माधव नेपाल समुहका नेता हुन् । सुनसरीमा पछिल्लो समय निरौलाले समानन्तर गतिविधि गर्दै आएका थिए । विगतमा ओली पक्षीय नेता, कार्यकर्ताहरुप्रति कठोर देखिएका निरौलालाई पनि ओलीले केन्द्रीय सदस्यबाट आउट गरेका हुन् । 

सुनसरीबाट ७ जना केन्द्रीय सदस्य

सुनसरी जिल्लाबाट केही पुराना र नयाँ गरि ६ जना कन्द्री सदस्यको सुचीमा अटाउन सफल भएका छन् । केन्द्रीय सदस्य हुनेहरुमा भीम आचार्य, भगवती चौधरी, जगदीश कुसियैत, तैयव हुसैन, लक्ष्मी गौतम, मञ्जु भण्डारी र अमृता सुब्बा छन् । 

केन्द्रीय सदस्यमा समेटिएकाहरुमा कुसियैत मधेसी कोटा,  हुसेन मुस्लिम कोटा, नेतृ चौधरी महिला खुल्ला कोटा, नेतृ गौतम महिला खुल्ला कोटा, नेतृ भण्डरी  १ न प्रदेश महिला कोटा र नेतृ सुब्बा जनजाति महिला कोटाबाट हुन् ।