धरान: धरान उपमहानगरपालिकाकी उपमेयर एवं युवा नेतृ मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा निवार्चित भएकी छिन् ।

चितवनमा जारी १० औं महाधिवेशनमा भएको मतदानबाट उनी केन्द्रीय सदस्यमा निवार्चित भएकी हुन् । प्रदेश नं १ को महिला कोटाबाट उनी केन्द्रीय सदस्य निवार्चित भएकी हुन् । कम्युनिष्ट गढ भनिदै आएको धरान क्षेत्रबाट एमालेको केन्द्रीय सदस्य हुने उनी पहिलो एमाले नेता एवं राजनीतिककर्मी हुन् । उनले १७९० मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भइन् ।

प्रदेश नं १ को महिला कोटा ३ जनाको रहेको छ । उक्त कोटामा ४ जनाको उम्मेदवारी परेको थियो। भण्डारीसँगै मेनका काफ्ले, उषाकला राई र सुनसरीकै निरा खनालको पनि उम्मेदवारी परेको थियो । ती मध्ये धरानकी भण्डारीले १७९० मत, झापाकी काफ्लेले १६३४ र खोटाङकी राईले १८७५ मत पाएर विजयती भइन् । सुनसरीकी खनाल भने ६१४ मत मात्र पाएर पराजित भइन् ।

बन्द सत्रमा अध्यक्ष ओलीले केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि खनालको नाम समावेश थिएन । उक्त सुची हलबाट अनुमोदन भए पनि निर्वाचन प्रक्रिया पुरा गर्ने क्रममा खनालले पनि उम्मेदवारी दर्ता गराएपछि प्रदेश १ को महिला कोटामा पनि मतदान भएको थियो । 

केन्द्रीय सदस्यमा विजयी नेतृ भण्डारी अखिलको राजनीतिबाट उदाएकी नेतृ हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा विजयी हुदै धरानको उपमेयर भएकी छिन् । हाल उनी अनेम संघ सुनसरी जिल्ला अध्यक्ष हुन् भने एमाले सुनसरी जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य पनि छिन् । यसअघि उनी जिल्ला सचिवालय सदस्य तथा धरान इञ्चार्ज पनि थिइन् ।