धरान: धरानमा घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई ब्राण्डिङ गर्ने गृहकार्य शुरु गरेको छ । 

धरान उपमहानगरपालिकाले तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्दै स्थानीयबासीको जीवनस्तर उकास्ने उद्देश्य लिएको छ । नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको गठीत कार्यदलको पहिलो बैठक बसेको छ । सुचना अधिकृत समेत रहेका सदस्य सचिव खगेन्द्र खतिवडाका अनुसार तीनपाने रक्सी तथा कालो बंगुर प्रवद्र्धन गर्ने विषयमा धरानको वडा नं. ११, १६, १७, १८ र २० मा पहिलो चरणमा स्थलगतरुपमा जाने, सचेतना कार्यक्रम गर्ने र त्यहाँ उत्पादन भईरहेको तीनपाने रक्सी उत्पादनको अवलोकन, अध्ययन गर्ने र विद्यमान स्थितिको तथ्यांक संकलन गरि विश्लेषण गर्ने कार्य केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारलाई जिम्मेवारी दिईएको छ । 

तीनपाने रक्सीको प्रविधि, मापदण्ड र गुणस्तरको सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय समेतको समन्वयमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार मार्फत गरिने निर्णय भएको छ । बैठकले हाल प्रचलनमा रहेको ऐन नियमको अध्ययन गरि तीनपाने रक्सी उत्पादन र व्यवस्थापन गर्ने बारेमा स्थानीय कानूनको मस्यौदा निर्माणको लागि धरान उपमहानगरपालिकाका कानूनी सल्लाहकारलाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ । साथै, नगर प्रमुखको नेतृत्वमा प्रदेश नं. १, सामाजिक विकास मन्त्रालय मार्फत मापदण्ड र कानून निर्माणको लागि पहल गरिने निर्णय भएको छ । 

यस्तै, घरेलु मदिराको रुपमा प्रयोग हुँदै आएको परम्परागत तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्नका लागि यसको आवश्यकता र औचित्यको बारेमा जानकारीमूलक लेख, रचना र अध्ययन सामग्री तयार गरि प्रचार प्रसार गर्ने समेत निर्णय गरिएको छ । नगर प्रमुख राईले परम्परागत रुपमा उत्पादन गरिरहेका स्थानीयबासीलाई तीनपाने रक्सीको बारेमा थप ज्ञान, सीप दिएर व्यवसायीकरण गर्न सकियो भने आत्मनिर्भर बनाउन सकिने बताए । साथै, तीनपाने रक्सी बनाउन प्रयोग गरिने कच्चापदार्थ मर्चालाई व्यवसायीकरण गर्न सकिने उनको भनाई थियो । 

गतवर्ष केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक बसन्त कुमार राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा सदस्यहरु केन्द्रिय प्रविधि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फुलमाया तामाङ, सदर राई, मोहन तिगेला र खगेन्द्र खतिवडा सदस्य सचिव रहेका छन् । कोभिड १९ का कारण कार्यदल गठन भएयता यस विषयमा बैठक बस्न सकेको थिएन । बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राज कुमार रिजाल र खाद्य अनुसन्धान अधिकृत निरन कट्वालको पनि उपस्थिति थियो ।