धरान: नेकपा एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निवार्चित नेतृ मञ्जु भण्डारी सुवेदीले आम नेता, कार्यकर्ताहरुको आशा र भरोसालाई उच्च सम्मान गर्ने बताएकी छिन् । 

चितवनबाट गृहनगर धरान आएकी नेतृ भण्डारीलाई स्वागत गर्न पुगेका नेता, कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गर्दै नेतृ भण्डारीले यस्तो बताएकी हुन् । तीनकुनेमा स्वागत गर्न आएका नेता, कार्यकर्ताहरुसहित भण्डारी धरान १५ श्यामचोकस्थित मनमोहन अधिकारीको सालिकमा पुगेर माल्र्यापण गरेकी थिइन् । नेतृ भण्डारीले अनेक जटिलताहरुको बीचमा एकताको महाधिवेशन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै एमाले जनताको प्यारो पार्टी छ भन्ने पुष्टिसमेत भएको बताइन् । उनले महाधिवेशनले एकताको साथ आगामी स्थानीय तहदेखि सबै निर्वाचनमा विजय गराउन नेता, कार्यकर्ताहरु मैदानमा उत्रिएको सन्देशसमेत दिएको बताइन् । साथै, आम नेता र कार्यकर्ताहरुको आशा, भरोसालाई उच्च सम्मान गर्दै भुमिका निर्वाह गर्ने पनि उनले बताइन् ।


चितवनमा हिजो मंगलबार सम्पन्न भएको महाधिवेशनमा नेतृ भण्डारी प्रदेश १ को महिला कोटाबाट केन्द्रीय सदस्यमा निवार्चित भएकी थिइन् । उनी गृह नगर धरान आउने क्रममा आज बुधबार यहाँका नेता, कार्यकर्ताहरुले उनलाई स्वागत गर्न तिनकुनेमा पुगेका थिए । कम्युनिष्ट गढ भनिएको धरानबाट नेकपा एमालेको केन्द्रीय सदस्य हुने भण्डारी पहिलो राजनीतिकर्मी हुन् । विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ भण्डारी अनेरास्ववियुकी केन्द्रीय सदस्य भएकी थिइन् भने २ कार्यकाल एमाले सुनसरी जिल्ला कमिटी सदस्य पनि भएकी थिइन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा धरानको उपमेयरमा विजयी हासिल गरेकी हुन् । 

नेतृ भण्डारीलाई स्वागत गर्न पुगेका एमाले प्रदेश १ कमिटी सदस्य मोतिराज सुनुवारले महाधिवेशनको तयारी गर्दै गर्दा नेता, कार्यकर्ताबाट मात्र नभै धरानका जनताले पनि एक जना केन्द्रीय सदस्य हुनुपर्ने आवाज उठाइरहेको बताए । उनले धरानलाई केन्द्रसँग जोड्ने केन्द्रीयस्तरको नेता कोही पनि हुन नसकेको भन्दै जनताले पनि केन्द्रीय नेताको चाहना व्यक्त गरिरहेकोमा अहिले साकार भएको बताए । नेतृ भण्डारी केन्द्रीय सदस्य हुँदा धरानका अन्य नेताहरु पनि केन्द्रीय सदस्य भएको महशुस भइरहेको सुनुवारको धारणा थियो ।