विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १२, उर्लाबारीमा २, पथरीशनिश्चरे र उर्लाबारीमा १–१ जना छन् भने झापाको मेचीनगरमा ३, भद्रपुर र विर्तामोडमा २–२, हल्दिबारी र बाहृदशीमा १–१ जना संक्रमित थपिएका छन् । यस्तै, सुनसरीको इटहरीमा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा थप २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।