धरान: स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा संयोजक भएको छानबिन समितिले  गत कार्तिक २६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छ । 

प्रतिवेदन गोप्य राखिए पनि छानबिन समितिले वहालवाला ३ पदाधिकारीलाई पदमुक्त गर्न सिफारिश गरेको सार्वजनिक भइसकेको छ । यद्यपी, प्रतिवेदनमा विस्तृत के के उल्लेख छ भन्ने खुलिसकेको छैन । हाल भने झण्डै एक महिनापछि उक्त प्रतिवेदन एक सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । दश पाना भएको उक्त प्रतिवेदनमा ५ बुँदाको निष्कर्ष तथा सुझावहरु उल्लेख गरिएको छ । 

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ कार्तिक १ गते प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (घ) बमोजिम स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा एक छानबिन समिति गठन गरेका थिए । समितिको सदस्यमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र सदस्यमा धरानका मेयर तिलक राई रहेका थिए । 

यस्तो छ छानबिनको निष्कर्ष र सुझाव

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका हाल कार्यारत पदाधिकारीहरु उपकुलपति, शिक्षाध्यक्ष र अस्पताल निर्देशकले पद अनुसारको दायित्व पुरा गरेको नदेखिएकाले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ. को उपदफा (३) बमोजिम कारबाही गर्न संचालक परिषद्समक्ष सिफारिस गर्ने ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाल कार्यरत पदाधिकारीहरु उपकुलपति, शिक्षाध्यक्ष र अस्पताल निर्देशक एवं राजीनामा स्वीकृत भइसकेको रजिष्ट्रारलेसमेत पदमा रहँदाको बखत अख्तियारको दुरुपयोग गरी पदीय मर्यादा र आचरणविपरीतको व्यवहार एवं आर्थिक अनियमितता गरेको विषयमा राज्यको स्थापित निकायले छानबिन गर्ने र दोषी ठहरिएमा कानुन अनुसारको कारबाहीको लागि सिफारिस गर्ने ।

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राजनैतिक भागबण्डा र अपारदर्शी चलखेलबाट नभई स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ अनुसार शैक्षिक योग्यता र उच्च व्यवस्थापकीय क्षमता भएको, उच्च पेशागत आचरण र समाजमा प्रतिष्ठित व्यक्तिलाई बस्तुनिष्ठ छनौटको आधारमा जिम्मेवार पदमा पदाधिकारी नियुक्ति गर्न सिफारीस गर्ने ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षक र कर्मचारीलाई प्रतिष्ठान प्रति जिम्मेवार बनाइ अनुशासित र जिम्मेवार ढंगबाट कार्य गर्न प्रोत्साहन गर्ने र अनुशासनहिन र गैरजिम्मेवार कर्मचारीलाई सजाय हुने प्रबन्ध गर्ने ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यमान वेथिति र समस्याहरुको समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्याल संयोजक रहेको समितिले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुधारका सुझावलाई कार्यान्वयन हुने प्रबन्ध गर्ने ।

bp-report

bp