विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि कार्यदल गठन भएको छ । 

अध्यक्षको दौडमा रहेका तीन जना नेताहरु ब्याक भएपछि नेतृत्व लिन नयाँ आकांक्षीहरु अघि सरेका छन् । नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा कार्यदल गठन भएको हो । कार्यदलमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहेका छन् । 

उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा पाएको छ । उक्त प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीको तयारी छ । अध्यक्षको दौडमा रहेका पूर्वकेन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ भएका छन् । नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । 

mao

प्रदेश समितिको पहिलो बैठक विराटनगरका पुराना माओवादी नेता टंक गिरी (महेश)को अध्यक्षतामा सञ्चालन भएको थियो । बैठकले कमिटीको पूर्णता दिने, अधिवेशनमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिने, समसामयिक प्रस्ताव पारित गर्ने, बाँकी रहेका पालिका अधिवेशनलाई पूर्णता दिनेलगायतका विषयमा निर्णय गरेको छ ।