विराटनगर: प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरबीच भेटवार्ता भएको छ । 

मुख्यमन्त्री कार्यकक्षमा दुवै जनाको आज (बिहीबार) द्विपक्षीय हितकाबारे भेटवार्ता भएको हो । उक्त भेटमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाडै टुंगाउने सरकारको प्राथमिकता भएको बताएका छन् । राजदूत क्याप्लरले मुख्यमन्त्री भएपछि प्राथमिकताका क्षेत्र बारे राखेको जिज्ञासाका सन्दर्भमा मुख्यमन्त्री राईले प्रदेशको नाम चाँडै टुंगाउने अबको प्राथमिकता भएको स्पष्ट पारेका थिए । ‘हाम्रो प्रदेशको नामाकरण गर्नेसहित अन्य केही प्राथमिकता छन्,’ मुख्यमन्त्री राईले भने । 

मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई प्राथमिकतामा राखेर स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले स्वीस सहायतामा सञ्चालन भएका परियोजना सम्पन्न गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहको पनि बताए । उनले पूर्ववर्ती सरकारले थालेका तर पूरा नभएको कामका कारणले वर्तमान सरकारको केही दायित्व बढी भएको उल्लेख गरे । साथै, बजेट कम भएको अवस्थाले थप चुनौती सिर्जना गरेको पनि उनले बताए । 

मुख्यमन्त्री राईले अनावश्यक योजना कटौती गर्ने, राजश्व बृद्धि गर्ने र अनुदान जुटाउने काममा लाग्नुपरेको पनि उल्लेख गरे । ‘प्रदेश सरकारका आफ्ना कार्यालयहरू राख्ने संरचना नभएको अहिले अवस्थामा संघीयता कार्यान्वयनका सन्दर्भमा विगतका सरकारको मौनता र सुस्तताले वर्तमान सरकारलाई बढी चापमा पारेको छ,’मुख्यमन्त्री राईले भने,‘कर्मचारी पर्याप्त छैनन्, संघीय सरकारले पठाएका कर्मचारीको भर पर्नुपरेको छ ।’ मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारको भुमिकालाई गहिरो आत्मसात गरि अघि बढ्ने पनि बताए । 

उक्त अवसरमा स्वीस राजदूत क्याप्लरले नवनियुक्त मुख्यमन्त्री राईसँग आफ्नो पहिलो शिष्टाचार भेटघाट भएको बताइन् । उनले विगतका सरकारमार्फत गरिएका राम्रा लागेका कामलाई निरन्तरता दिने मुख्यमन्त्रीको वचनवद्धताप्रति आभार पनि प्रकट गरेकी थिइन् । साथै नेपालको संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन प्रदेश सरकारसँग हातेमालो गर्न आफूहरू सधैँ तत्पर रहेको बताइन् । संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार शक्तिशाली निकाय भएको पनि उनले स्मरण गराएकी थिइन् ।