धरान: धरान वडा नं ७ स्थित राजेश पेट्रोल पम्पको ठगी धन्दाबारे बेला बेला उपभोक्ताहरुको गुनासो आउछ, तर प्रमाणित हुन सकिरहेको थिएन । 

आज (शुक्रबार) भने एउटा घटनाले यो पम्पको ठगी धन्दाको पर्दाफास भएको छ । पेट्रोल हाल्न गएका उपभोक्ताले पैसा तिरेको भन्दा थोरैको मात्र पेट्रोल हालेर ठगी गरिरहेको पुष्टि भएको हो । उपभोक्ताहरुले प्रमाणसहित उक्त पम्पका कर्मचारीलाई पक्राउ गरेर वडा प्रहरी कार्यालयमा बुझाएका थिए । पछि पम्पका सञ्चालकको उपस्थितिमा त्यसरी ठगी नगर्ने र कामबाट निकाल्ने कागज गरेर छुटेका छन् ।

प्रत्यक्षदर्शी धरान रनका अध्यक्ष रमु राईका अनुसार ती कर्मचारीले स्कुटरमा २१५ रुपैयाको पेट्रोल हालिदिएका थिए । त्यसपछि पालो आएका उपभोक्तालाई मोटरसाइकलमा ५ सय रुपैयाको पेट्रोल हालिदिनुपर्नेमा ती कर्मचारीले २१५ रुपैयाबाट नै पेट्रोल हाल्न शुरु गरेर ठगी गरेको उनले बताए । ‘अंक जिरो बनाएर ५ सय रुपैयाको पेट्रोल हाल्नुपर्ने थियो, त्यसो नगरि स्कुटरले पेट्रोल हालेकै २१५ रुपैयाको अंकबाट पेट्रोल हालिदियो,’उनले भने,‘प्रत्यक्षरुपमा देखिएपछि हामीले कुरा गर्दा गैरजिम्मेवार जवाफ दियो, र वडा प्रहरीको जिम्मा लगायौ ।’

प्रत्यक्षदर्शी राईका अनुसार केही महिनाअघि पनि त्यही पम्पले यसै गरि उनी आफैलाई ठगी गरेको थियो । त्यसबेला १ हजारको पेट्रोल लगाउन जादा अघिल्लो सवारीको मिटर रोकिएकैबाट आफुलाई पेट्रोल हालेर ठग्न खोजेको र आफुले थाह पाएपछि माफी मागेको उनले बताए । ‘त्यो बेला पनि मैले थाह पाएपछि अबदेखि त्यसो गर्दिन भनेर माफी माग्यो, र मैले छोडिदिएको थिएँ,’उनले भने,‘यसरी कतिलाई ठगी गरेको होला ? सबैले पेट्रोल हाल्दा मिटरमा ख्याल गर्नुपर्छ ।’