धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ४३६ जनाको पीसीआर परीक्षण गर्दा १६ र ११६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा २, कानेपोखरी, मिक्लाजुङ र पथरीशनिश्चरेमा १–१ जना छन् भने झापाको विर्तामोडमा २, हल्दिबारी र मेचीनगरमा १–१ जना छन् । यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ३, सुनसरीको इटहरीमा २, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरि, प्रदेश १ मा थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।