धरान: स्थानीय सरकारले निर्णय गरेको विपरीत धरानको विष्णु मेमोरियल स्कुलले शुल्क वृद्धि गरेकोमा विद्यार्थी संगठनहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

नेवि संघ, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका प्रतिनिधिहरुले बुधबार मेयर तिलक राईलाई संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । विद्यार्थी संगठनहरुले एक सयभन्दा बढी अभिभावकहरुले शुल्कवृद्धि विरुद्ध उपमहानगरपालिकामा निवेदन दिएपनि नियामक निकायले मौनता साधेकोप्रति पनि प्रश्न उठाएको छ । 

विद्यार्थी संगठनहरुले नगरपालिका र सरोकारवालाहरुसँगको सहमतिमा निर्धारण गरिएको स्कुल शुल्क विपरीत विष्णु स्कुलले वृद्धि गरेको शुल्क असुली तत्काल रोक्न र लिइसकेको शुल्क अभिभावक विद्यार्थीलाई फिर्ता गर्न पनि माग गरेका छन् । यस्तै, नगरपालिका र अन्य सरोकारवालाहरुको उपस्थितिमा निर्धारण गरिएको सबै स्कुल शुल्क विपरीत शुल्क लिने स्थानीय तहका स्कुलहरुलाई चाडो कानुनी दायरामा ल्याएर कार्वाही गर्न पनि माग गरेका छन् ।

यसैगरि, स्थानीय सरकारले धरानको शैक्षिक सापेक्षतामा शुल्क निर्धारणको कार्यविधि हालसम्म लागु नगरेकोले सबै सरोकारवालाहरुको सहमति र उपस्थितिमा छलफल गरि यथाशिघ्र लागु गर्न पनि माग गरेका छन् । तीन बुँदे माग ३ दिनभित्र सम्बोधन नभए सम्बन्धित शैक्षिक संस्थाहरुमाथि विद्यार्थी संगठन स्वयम कदम चाल्न बाध्य हुने पनि चेतावनी दिएका छन् । यसको जिम्मेवार स्थानीय सरकार र सम्बन्धित शैक्षिक संस्था स्वयम हुनुपर्ने पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

bishnu1

bishnu2