धरान: स्थानीय सरकारको निर्णय विपरीत विष्णु मेमोरियल स्कुलले बार्षिक र मासिक शुल्क असुलेको भन्दै अभिभावकले उजुरी दिएपनि धरान उपमहानगरपालिकाले आवश्यक कारबाही अघि बढाएको छैन ।

स्कुलका अभिभावकहरुले मंसिर २३ गते नै विद्यालयविरुद्ध शिक्षा महाशाखामा उजुरी गरेका थिए भने न्यायिक समितिमा पनि बोधार्थ दिएका थिए । निवेदन परेको एक साताभन्दा बढी समय बितेपनि आवश्यक छानबिन तथा कारबाही प्रक्रिया अघि नबढेपछि अभिभावकहरु स्थानीय सरकारप्रति असन्तुष्ट छन् । आज (शुक्रबार) स्कुलका अभिभावकहरु उपमहानगरपालिकामा उजुरीबारे आवश्यक जानकारी लिन पुगेका थिए, तर सम्बन्धित महाशाखा प्रमुख, मेयर र उपमेयर कोही पनि नभेटिएको एक अभिभावकले जानकारी दिए ।

शुक्रबार ६४ जना अभिभावकहरु उपमहानगरपालिकामा पुगेका थिए । उनीहरुले शिक्षा महशाखा प्रमुख रत्न कटवाल, मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई भेट्ने प्रयास गरेपनि कसैसँग कार्यकक्षमा नभेटिएको एक अभिभावकले बताइन् । ‘स्कुलले निर्णय विपरीत फि लिएको भनेर उजुरी गरेको यतिका दिन बितिसक्यो, स्थानीय सरकारले के गरिरहेको छ भनेर बुझ्न गएका थियौ, कोही भेटिएन,’ती अभिभावकले भनिन् ।

उपमहानगरपालिकाले गत भदौ अन्तिम साता धरानका निजी विद्यालयहरुको शुल्क निर्धारण गरेको थियो । उक्त निर्णय विपरीत विष्णु स्कुलले बार्षिक र मासिक शुल्क अत्यधिक वृद्धि गरेको कारण उजुरी दिनुपरेको अभिभावकहरुको भनाई छ । ‘हामीले नगरपालिकाको निर्णय अनुसार तिछौं भन्दा स्कुल मान्दैन, २ पटक अभिभावक र स्कुल छलफलमा बस्यौ, स्कुल नगरपालिकाको निर्णय नमान्ने भन्छ,’ती अभिभावकले भने,‘२०७२ सालमा १ कक्षाको बार्षिक फि ९ हजार र मासिक फि १६७५ तिरेको अभिभावकले अहिले बार्षिक २५ हजार र मासिक ३ हजार तिरिरहेको छ । यति समयमा कति वृद्धि भयो ?’ आज पुनः ६४ जनाको हस्ताक्षरसहित मेयरको सचिवालयमा निवेदन बुझाएको उनको भनाई छ ।

परीक्षा नजिकिदै गर्दा विद्यार्थीहरु तनावमा

स्कुलमा यही पुष ११ गतेदेखि दोस्रो त्रैमासिक परीक्षा शुरु हुदैछ । परीक्षा नजिकिदै गर्दा पनि उपमहानगरपालिकाले स्कुलको शुल्कबारे निर्णय वा आवश्यक कारबाही प्रक्रिया अघि नबढाउदा अभिभावकलाई मात्र होइन, विद्यार्थीहरुलाई पनि तनाव बढ्दै गएको छ । 

अभिभावकहरु उमहानगरपालिकाबाट ठोस निर्णय नभएसम्म शुल्क नतिर्ने अडानमा छन् । यता विद्यार्थीहरु भने फि नतिरेपछि परीक्षाको प्रवेश पत्र नपाइएला भन्ने पिरलोमा छन् । जसले गर्दा अभिभावकहरु स्कुलले भनेजति नै शुल्क तिर्नुपर्ने दबाबमा छन् । ‘स्थानीय सरकार कानमा तेल हालेर बसेको छ, परीक्षा नजिक आइसकेकोले छोराछोरीहरुले फि तिरिदिनु भनिरहेका छन्,’एक अभिभावकले भनिन्,‘छिटो निर्णय गरिदिए हुन्थ्यो ।’

के भन्छ, शिक्षा महाशाखा ?

शिक्षा महाशाखा प्रमुख रत्न कटवालले कार्यपालिकाले निर्णय गरेको विपरीत थप २५ प्रतिशत बार्षिक शुल्क स्कुलले लिन खोजेको बताए । त्यसबारेमा स्कुललाई नलिन निर्देशन दिइएको र स्कुलले पनि नलिने भनेर सहमत भइसकेको उनको भनाई छ । ‘कार्यपालिकाको निर्णय कानुन सरह नै भएकोले ५० प्रतिशत भन्दा एक पैसा नबढाउन भन्यौ, स्कुल ओके भइसकेको छ,’उनले टेलिफोन सम्पर्कमा भने,‘मासिक फि निर्णय विपरीत बढाएको देखियो, त्यसबारे पनि मेयरबाट बोलाएर सम्झाउने कुरा भएको छ ।’

मासिक शुल्कको बिषयमा विद्यालयले २०७४ सालदेखि शिक्षक कर्मचारीहरुको तलब वृद्धि नभएको र यो बिचमा सरकारी कर्मचारीको पटक पटक वृद्धि भएकोले आफ्नोमा पनि वृद्धि गर्नुपर्ने भएको भन्दै मासिक शुल्क बढाउन बाध्य भएको भनेर जवाफ दिएको कटवालको भनाई छ । अभिभावकहरुसँग प्रस्ताव गरेर नै मासिक शुल्क बढाएको स्कुलले दाबी गरेपनि १ सय जना अभिभावकहरुले उजुरी दिएको कटवालको भनाई छ ।