विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखद भएको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका सम्बन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवीच आजदेखि विराटनगरमा समीक्षा तथा अन्तरक्रिया शुरु भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले बर्षेनी महिला हिंसाको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताए । 

उनले महिला हिंसाले महिला र पुरुष दुवैलाई इङ्गित गर्ने बताए । मन्त्री यादवले महिला हिंसाका घटना न्युनीकरणका लागि गाउँ–गाउँमा सचेतना आवश्यक रहेको पनि जोडदिए । मन्त्रालयसँगको समन्वयमा प्रदेश १ का १५ स्थानीय तहमा सञ्चालित अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवाका प्रभावकारीताका आधारमा अन्य स्थानीय तहहरुमा पनि कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले सामाजिक विकास मन्त्रालयले घरेलु तथा लैंगिक हिंसाबाट पीडित भई भय तथा असुरक्षा महसुस गरि आफ्नो घरपरिवार तथा समाजमा रहि जीवन यापन गर्न नसकिरहेका महिला तथा बालबालिकाहरुलाई लक्षित गरि दीर्घकालिन पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याईको बताइन् । उनले दुई वर्ष अघिदेखि गृह सञ्चालनमा रहेको र गृहमा १२ जना महिला तथा बालिकाहरु रहेको जानकारी दिइन् । 

उनले पुर्नस्थापना गृहबाट पुर्नमिलन तथा पुर्नस्थापना, बालिकाको संस्थागत स्याहार, बालिकाहरु शिक्षा लगायतका चुनौती रहेको बताइन् । कार्यक्रममा प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, प्रदेश सांसदहरु, सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्थानीय तहका उपप्रमुखहरु, संरक्षण गृहका संयोजक लगायतको सहभागिता रहेको थियो ।