धरान: नेकपा (माओवादी केन्द्र) को प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निवार्चित भएका छन्।
हिजो राती भएको निर्वाचन मतपरिणाममा नेम्बाङले प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बो (मुकेश)लाई भारी मतान्तरले हराउदै अध्यक्षमा निवार्चित भएका हुन् । विजयी नेम्बाङले १६९ मत ल्याए भने प्रत्यासी मेन्याङ्बोले ६४ मत मात्रै पाएका छन् । अध्यक्षमा विजयी नेम्बाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिवसमेत छन् ।
यसैगरि, तीन जना उपाध्यक्षमा देवन चाम्लिङ (पृथ्वी)ले १२०, शिवकुमार डाँगीले ११३ र मणिकुमार साम्पाङले १११ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । तीन जनाको उपाध्यक्ष पदमा ८ जनाले उम्मेद्वारी दिएका थिए। सचिवमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी भएका छन् । अर्का प्रत्याउसी सिपी कडरियाले ८३ मत मात्र पाएर पराजित भए।
यसैगरि, ३ जना सहसचिवमा कुमारी राई (रचना), ऋषिराम ढुंगाना (कुसुम) र सागर किराँती विजयी भएको निर्वाचन समितिले जनाएको छ । राईले ११४, ढुंगानाले ९५ र किराँतीले ७३ मत पाएका छन् । तीन जनाको सहसचिव पदमा १३ जनाले उम्मेद्वारी दिएका थिए। यस्तै, कोषाध्यक्ष पदमा रेवतराज पुरी (गगन)ले ९३ मत ल्याएर विजयी भए । पराजित प्रत्यासी बन्दना झाँगडले ५७, मदनकुमार चुँडालले ५५ र रामकुमार कार्कीले २३ मत मात्र पाए ।
निर्वाचन समितिका अनुसार ९ जना पदाधिकारीमा २९ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा २४० जनाले मतदान गरेका थिए। मतदानमा प्रदेश अधिवेशनबाट चुनिएका प्रदेश कमिटी सदस्यहरुले मात्र भाग लिएका थिए । माओवादी केन्द्रले पदाधिकारीहरुमा सर्वसम्मत चयन गर्ने प्रयास गरेको थियो । पदाधिकारी चयन गर्न एक कार्यदल गठन गरेपनि सफल नभएपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गरिएको हो ।