धरान: धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन भइरहेको छ ।

प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन सकिए पछि अध्ययन गरिरहेको परामर्शदाताका प्राविधिकहरुले बिहिबार धरान उपमहानगरपालिकासँग पनि छलफल गरेको छ । परामर्शदाता कम्पनी टिएमएस इआइमेभिन रेज जेभिका प्राविधिक प्रविणसिंह भण्डारीका अनुसार धरानतर्फ ५ वटा र लेउती खोलातर्फ ३ वटा लोकेशनमा सुरुङ बनाउनेबारे प्रारम्भिक अध्ययन भइसकेको छ । ती अध्ययनबारे उपमहानगरपालिकासँग छलफल भएको र भविष्यमा थप कहाँ अध्ययन गर्ने भन्ने कुरा भएको उनले बताए । 

उनका अनुसार यो सुरुङ ४ देखि ५ किलोमिटर दुरीको हुनेछ । चौडाई कति हुने भन्ने निर्धारण ट्राफिक एवं गाडीको संख्या र भविष्यमा हुने गाडीहरुको संख्याको विश्लेषण पछि हुने पनि उनले बताए । अब थप विस्तृत अध्ययन गरिने उनले बताए ।

dharan-leuti2

उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार जोगवनी किमाथांका व्यापारिक मार्गको दुरी र समय घटाउन सुरुङ मार्गको अवधारणा अघि बढेको हो । प्रदेश सरकारको महत्वपुर्ण योजना रहेको यो सुरुङ मार्गले धरानको खानेपानीको समस्यालाई पनि समाधान गर्ने गरि अध्ययन भइरहेको उनले बताए ।

उनका अनुसार धरानतर्फ सर्दु खोला आपसापमा २ वटा लोकेसन र सेउती खोला आसपासमा ३ वटा लेकेशनमा प्रारम्भिक अध्ययन भएको छ । ती मध्ये आपगाछीबाट जाने सुरुङ मार्ग पहिलो प्राथमिकतामा छ भने दोस्रो उपयुक्त सुरुङ धरानको बेसक्याम्प केही माथिबाट हुने अध्ययनबाट देखिएको उनले बताए । यद्यपी पहिलो प्राथमिकता भएको सुरुङ क्षेत्रमा सर्दु जलाधार क्षेत्र पर्ने र दोस्रो सुरुङ क्षेत्रमा एक्टिभ फल्ट हुने भएकोले चुनौतीपुर्ण रहेको पनि उनले बताए । 

dharan-leuti1

छलफलमा मेयर तिलक राईले धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रलाई जोगाएर सुरुङ मार्ग लैजानुपर्ने धारणा राखे । उनले बेस क्याम्पस क्षेत्रमा सडक विभागको जग्गा पनि रहेको र त्यहाँबाट सुरुङ मार्ग लैजान सके उचित हुने पनि बताए । यद्यपी, त्यस क्षेत्रमा भुकम्पको फल्ट रहेकोप्रति भने सजग रहेर अध्ययन गर्न उनले आग्रह गरे ।


dharan-leuti