विराटनगर: प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरु गरिएको छ । 

प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्ययोजना बनाउने निर्णय भएको निर्देशक वस्नेतले बताए । उनका अनुसार पाँचथरमा पाईलट परियोजना शुरु गर्ने तयारी गरिएको छ । 

posan-khana

युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ । तथापी कुपोषणमुक्त प्रदेशका लागि आवश्यक जनशक्ति अभाव भएको निर्देशक बस्नेतको भनाई छ । कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रवन्ध गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिईने पनि बताए । स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन आवश्यक रहेको मन्त्री यादवले बताए ।

समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, स्थानीयतहका प्रतिनिधि, सुआहारा, डब्ल्युएफपी, एमएसएनपी, पोषणपुर्नस्थापना गृहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गत कात्तिकमा सम्पन्न प्रदेश स्तरिय समीक्षा गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पारित गरिएको थियो ।