धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीले आगामी ६ महिनाभित्र धरान उपमहानगर कमिटीको अधिवेशन गर्न निर्देशन दिएको छ। 

विवाद अन्त्य गर्न गठित कार्यदलको निर्णयसहित जिल्ला कमिटीले धरान उपमहानगर कमिटीलाई यस्तो निर्देशन दिएको हो । निर्देशन अनुसार आगामी असारभित्र उपमहानगर कमिटीको अधिवेशन गर्नुपर्ने हुन्छ । कार्यदलको निर्णय अनुसार धरान कमिटीको अध्यक्षमा हर्कजंग एभेङ, उपाध्यक्षमा पारस काङमाङ, सचिवमा सुदेश चापागाई रहनेछन् । दुई जना उपसचिव कमिटीलाई निर्णय गर्ने जिम्मेवारी दिइएको छ । 

यस्तै, विगतमा दुवै कमिटीमा जिम्मेवारीमा रहेका सदस्यहरु स्वतः उपमहानगर कमिटी सदस्य हुने पनि निर्देशन पत्रमा उल्लेख छ । कार्यदलको सिफारिश अनुसार धरान उपमहानगर कमिटी इञ्चार्जको जिम्मेवारी नारायण सुवेदीलाई दिइएको छ भने उपमहानगर कमिटीको उपाध्यक्षको जिम्मेवारीमा रहेकी सविता राईलाई ७ औं जिल्ला अधिवेशन आयोजक कमिटीमा मनोनयन गरिएको एमाले जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष एभेङले जिल्ला कमिटीले दिएको निर्देशन कार्यान्वयन गर्ने बताए । उनले पार्टीले निर्देशन दिएको महिना असार हुने भएको समय थपघट हुनसक्ने पनि बताए । उनले भने,‘कार्यकर्ताको माग र नेतृत्वको निर्देशन मान्य हुन्छ ।’

Uml 1