धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीको अध्यक्षमा हर्कजंग एभेङलाई बनाउने विवाद समाधान गर्न गठित कार्यदलले निर्णय गरेको छ ।
जिल्ला कमिटीले गठन गरेको कार्यदलले एभेङलाई अध्यक्ष बनाउने निर्णय गर्दा अर्को समानन्तर कमिटीको अध्यक्ष नारायण सुवेदीलाई भने धरान उपमहानगर इञ्चार्ज बनाउने पनि निर्णय गरेको छ । यस्तै, संस्थापन कमिटीको उपाध्यक्ष सविता राई र समानन्तर कमिटीका उपाध्यक्ष राजमणी निरौलालाई जिल्ला कमिटीमा मनोनित गर्ने निर्णय कार्यदलले गरेको छ भने खाली रहेको उपाध्यक्ष पदमा पारस काङमाङलाई बनाउने निर्णय गरिएको कार्यदलका संयोजकसमेत रहेका एमाले जिल्ला अध्यक्ष खेमराज पोख्रेलले बताए । काङमाङ समानन्तर कमिटीका सचिव थिए ।
सचिवमा पनि संस्थापनका सुदेश चापगाईले निरन्तरता पाएका छन् । उपसचिव पदमा भने नगर कमिटीलाई नै मिलाउने जिम्मा दिइएको संयोजक पोख्रेलले बताए । उनले भने,‘उपसचिव र सदस्यहरु मिलाउने जिम्मेवारी त्यहीको कमिटीलाई दिइएको छ ।’
गत कार्तिक ९ गते धरानमा विवाद नमिले पछि एमालेको नगर अधिवेशन दुई पक्षले अलग अलग गरेका थिए । संस्थापन पक्षले धरान १० सैनिक भवनमा अधिवेशन गर्दै एभेङको अध्यक्षतामा ८५ सदस्यीय कमिटी बनाएको थियो भने अर्को पक्षले धरान १५ होटल इजीराइडरमा अधिवेशन गर्दै नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो ।
एमाले धरान अध्यक्ष एभेङले उपसचिव र सदस्यहरु मिलाएर पार्टीलाई एकढिक्का बनाउने बताए । उनले दुवै कमिटीका सदस्यहरुलाई अन्य कमिटीहरुमा व्यवस्थापन गरेर उचित जिम्मेवारी दिइने पनि उनले बताए ।