विराटनगर: विराटनगर महानगरपालिका ७ मा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमा करोडौं रकम घोटाला प्रकरणमा सिईओसहित ४ जना पक्राउ परेका छन् । 

मोरङ प्रहरीका अनुसार बैंकका सिईओ विराटनगर ६ का ४७ बर्षीय नविन सुवेदी, लेखा वित्त प्रमुख ४८ बर्षीय देवीप्रसाद भण्डारी, अपरेशन प्रमुख ३६ बर्षीय अमित थापा मगर र जनरल सर्भिस विभाग प्रमुख २९ बर्षीय हिमाल भट्टराई पक्राउ परेका हुन् । उनीहरुलाई बैंकिङ कसुर मुद्दामा अनुसन्धानको लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । 

प्रहरीका अनुसार बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैया हिनामिना भएको अनुसन्धानको क्रममा खुलेको छ । यो बैंकको प्रधान कार्यालय धनकुटामा रहेको छ भने कर्पोरेट कार्यालय विराटनगरमा छ । कर्पोरेट कार्यालयबाट नै रेमिट्यान्सको पौने १६ करोड रकम हिनामिना भएको हो । यो रकम पछिल्लो ६ बर्ष यता हिनामिना भएको देखिएको छ ।

सिईओ सुवेदीकी आफन्त बबिता सुवेदीको नाममा मात्र १४ करोड बढी रकम  ‘ट्रान्सफर’ भएको बताइएको छ । सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाताबाट यो रकम गैरकानुनी ढंगबाट निकालिएको खुलेको छ । बबिताको नाममा सिईओ सुवेदी र भट्टराईले फर्जी खाता बनाएको आशंका गरिएको छ । साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड भएको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त ख वर्गको बित्तिय संस्थाकोरुपमा रहेको यो बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ ।