धरान: इष्टर्न ओपन गल्फ प्रतियोगितामा बिहिबार प्रो–एम स्पर्धा भएसँगै चार दिने सुर्य नेपाल गल्फ टुर धरानमा समापन भएको छ ।
पार ७० को धरान गल्फ कोर्षमा बिहिबार भएको प्रो–एम स्पर्धामा व्यवसायिक खेलाडी धनबहादुर थापाको टिम विजयी भएको छ । थापाको टिमले कुल १५२ स्कोर गर्दै उपाधि जितेको हो । थापाले ३७ स्कोर गरेका थिए भने उनको टिममा एमेच्योर खेलाडीहरु पेम्बा शेर्पाले ४१, रुपेन्द्र गुरुङले ३७ र जितेन्द्र राईले ३७ स्कोर खेलेका थिए ।
यस्तै, उक्त स्पर्धामा व्यवसायिक खेलाडी निरज तामाङको टोली १४५ स्कोर गर्दै दोस्रो भयो । निरजले ३७ स्कोर गरे भने टिममा रहेका एमेच्योर खेलाडीहरु नेपाल प्रहरीका एसपी भीम दाहालले ३६, तुलसी सुब्बाले ३६ र राम तामाङले ३६ स्कोर गरे ।
अर्का व्यवसायिक खेलाडी शुक्रबहादुर राईको टिम १४२ स्कोरका साथ तेस्रो भएको थियो । उनले ३४ स्कोर गर्दा टिममा भएका एमेच्योर खेलाडीहरु भरत तामाङले ३६, काजी लिम्बुले ३६ र विनोद राईले ३६ स्कोर गरेका थिए ।
उक्त स्पर्धामा वेष्ट इन्डिभिज्युल स्कोर लेडिजको पुरस्कार तारा कुमारी चित्रकारले जितिन् । साथै, क्लोजेट टु दिन पिनको पुरस्कार राम तामाङले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कार संगम केसीले जिते । प्रो एम स्पर्धामा ५७ एमेच्योर र १४ जना व्यवसायिक खेलाडी गरि कुल ७१ जना सहभागी थिए ।
विजेता खेलाडीहरुलाई १ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारी, धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी, नेपाल प्रहरीका एआइजी हरिबहादुर पाल, सुर्य नेपाल प्रालिका एसिस्टेष्ट ब्राण्ड मेनेजर नविन सरोज, धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र बिक्रम लिम्बुलगायतले पुरस्कार वितरण गरेका थिए ।
मुख्य स्पर्धा भने बुधबार नै सकिएको थियो । उक्त स्पर्धामा धरानका युवा गल्फर तथा नेपालकै नम्बर १ गल्फ खेलाडी शुक्रबहादुर राईले उपाधि जितेका थिए । उनले ट्रफीसँगै नगद १ लाख ३५ हजार पनि हात पारेका छन् ।