धरान: इटहरीमा बिहिबारदेखि सुनसरी जिल्ला स्तरिय ए डिभिजन जिल्ला लिग कम नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । 

प्रतियोगितामा धरानको गोधुली क्लब र बराहक्षेत्रको न्यु स्टार क्लबले बिजयी शुरुवात गरेको छ । इटहरीस्थित रंगशालामा बिहिबार आयोजित उद्घाटन खेलमा गोधुलीले दुहबीको एलेभेन एरोज क्लबलाइ २–० गोल अन्तरले हरायो । गोधुलीका सुशिल राइले दोस्रो हाफको २३ औं र दिपक गिरीले ३९ औ मिनेटमा एक– एक गोल गर्दै टिमलाई विजयी बनाए । उक्त खेलको म्यान अफ द म्याच गोधुलीका सबिन राई घोषित भए । उनले नगद १ हजार ५ सय रुपैया हात पारे ।

यस्तै, बिहिबार नै भएको दोस्रो खेलमा न्यु स्टारले दुहबीकै गोल्डेन स्टार क्लबलाई १–० गोल अन्तरले हरायो । न्यु स्टारका सुजित राईले दोस्रो हाफको २८ औ मिनेटमा गरेको गोल निर्णायक भयो । उक्त खेलको म्यान अफद म्याच न्यु स्टारका सन्तोष श्रेष्ठ घोषित भए । शुक्रबारको पहिलो खेल धरानको टेम्के क्लब र इटहरी फुटबल क्लब बिच हुनेछ भने दोस्रो खेल राष्टिय जागृती क्लब इटहरी र धरान फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । 

football-leage

     अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए । इटहरी रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागी आठ टिमलाइ दुई समुहमा बिभाजित गरिएको छ । 

समुह क मा गोधुली क्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन । यस्तै समुह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन भने इटहरीका राष्टिय जागृती क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ । लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउदा उपबिजेता टिमले ३० हजार रुपैया पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जानकारी दिए ।