धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा धरानमा सिर्जनात्मक लेखन कार्यशाला चलिरहेको छ ।

धरान–९ स्थित विष्णु मेमोरियल स्कुलमा चलिरहेको २ दिने कार्यशालामा सुनसरीका विभिन्न स्कुल कलेजका विद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको छ । कार्यशालामा सहजिकरण नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले गरिरहेका छन् ।

कार्यशालामा नेपाली साहित्यका सृजनात्मक विधाहरु कविता, कथा, उपन्यास, निबन्ध लगायतका विषयमा अभिमुखिकरण सहित तिनको लेखन सम्बन्धि प्रयोगात्मक  सहजिकरण गराईएको कार्यक्रम संयोजक गोपी खतिवडाले जानकारी दिए । उनका अनुसार साहित्य क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुलाई कथा, कविता, निबन्ध, उपन्यासको प्रारुप तथा लेखनशैली, बाचनशैली सम्बन्धित ज्ञान दिइएको थियो । 

बिहीबार पहिलो दिन कविता सम्बन्धी कार्यशाला सम्पन्न भएको र आज शुक्रबार कथा, निबन्ध, उपन्यासका बारेमा सहजिकरण गरिने खतिवडाले जानकारी दिए । साहित्यमा रुचि राख्ने विद्यार्थीले कार्यशालामा सहभागी भए धेरै कुराको ज्ञान लिन सकिने उनको भनाई छ । कार्यक्रममा एकसय भन्दा बढीको सहभागीता रहेको थियो ।