धरान: विद्यार्थीले होमवर्क नगरे के गर्ने ? सामान्य गाली गर्ने, सम्झाउने वा अभिभावकलाई भन्ने । तर धरान १५ स्थित नवज्योति स्कुलका एक शिक्षिकाले १५० पटक उठबस गराउदा एक छात्रा विरामी भएकी छिन् ।

घटना गएको मंगलबारको हो । नेपाली बिषयको होमवर्क नगरेको भन्दै कक्षा ४ की ११ बर्षीया छात्रालाई सुरक्षा नाम गरेकी क्लास टिचरले पहिलो घण्टीमा नै उठबस गराइन्, त्यो पनि सामान्य होइन, डेढ सय पटक । अझ शिक्षिकाले त २ सय पटक उठबस गर्न भनेकी थिइन् । डेढ सय पटक उठबस गरेपछि छात्राले सकिनन्, र सास फेर्न गाह्रो भयो । त्यसपछि मात्र उठबस रोकेर बस्न लगाएको विद्यार्थीको भनाई छ । 

धरान ५ देउराली घर भएकी विद्यार्थी शिक्षिकाको यो चरम यातनाले विरामी नै परिन् । खुट्टा असाध्यै दुखेर उनी हिड्न नसक्ने भइन् । बुधबार स्कुल नगएकी छोरीको स्वास्थ्य बिहिबार पनि झनै बिग्रिएपछि शुक्रबार धरान १० स्थित विजयपुर हस्पिटलमा उपचारको लागि अभिभावकले भर्ना गरेका थिए । त्यहाँबाट उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा उपचार पश्चात आज बिहान डिस्चार्ज भएर घर पुगेको बुबा सनम चौधरीले बताए ।

छोरीलाई बिहिबार बिहानैदेखि ज्वारो आएको र हिड्न नसकेको आमा निरु चौधरीले बताइन् । सास फेर्न पनि गाह्रो भएको र खाना पनि नखाएपछि हस्पिटल लैजानु परेको उनको भनाई छ । यो बीचमा छोरीलाई यातना दिने शिक्षिकालाई कारबाहीको माग गर्दै बुबा सनम स्कुल पनि पुगेर । प्रिन्सिपलले उपचार गरेर बिल ल्याउन मात्र नभएको उनको गुनासो छ । ‘छोरीलाई विरामी बनाउने गरि उठबस गराउनेलाई कारबाही होस् भनेको छुँ, प्रिन्सिपलले उपचार गरेर विल ल्याउनु मात्र भन्यो,’उनले भने,‘मिसले सरी भन्दै थियो, मैले बच्चालाई डेढ सय पटक उठबस गर्छ भने तपाई ३ सय पटक गर्नुसक्नुहुन्छ पनि भने । सरी सरी मात्र भन्यो । हस्पिटलमा हुँदा कोही पनि भेट्न आएन ।’

कारबाही हुनुपर्छ: अभिभावक संघ

nawajyoti

अभिभावक संघ नेपाल धरान उपमहानगर कमिटीले विद्यार्थी हिड्नै नसक्ने गरि उठबस गराएर यातना दिने शिक्षिकालाई कारबाही गर्न माग गरेको छ । संघका अध्यक्ष विकास भाटी र सचिव विनोद तिम्सिनाले विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।

संघले बालबालिकालाई यातना दिने जो सुकैलाई पनि शिक्षककोरुपमा हेर्न नसकिने भन्दै विद्यालय प्रशासन, स्थानीय सरकारको शिक्षा महाशाखाले पीडित बालिकाको उपचारमा ध्यान दिन, यस्तो यातनाबाट बालबालिकामा भविष्यमा देखा पर्नसक्ने मानसिक असरलाई ध्यान दिदै उचित क्षतिपूर्तिसहित पीडकलाई कानुन वमोजिम कारबाही गर्न माग गरेको छ ।