धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत बास्केटबलको उपाधी एम्स एकेडेमी र धरान आदर्श स्कुलले जितेका छन् ।
धरान १८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको पुरुष बास्केटबलको उपाधी एम्स एकेडेमीले जितेको हो । एम्स एकेडेमीले लगातार तेस्रो वर्ष उपाधी जित्दै ह्याट्रिकसमेत गरेको छ । महिला बास्केटबलको उपाधी धरान आदर्श स्कुलले जितेको छ ।
फाइनलमा पुरुषतर्फ एम्सले हिमालयन मेघालाई ३१–२६ स्कोरले पराजित गरेको थियो । विजेता एम्सले प्रत्येक क्वार्टरमा क्रमशः ४–८–११–८ स्कोर गरेको थियो भने हिमालयन मेघाले ५–११–५–५ स्कोर गरेको थियो । खेलको पहिलो र दोस्रो क्वाटरमा पछि परेको अवस्थालाई तेस्रो क्वाटरमा एम्सले उत्कृष्ट पुनरागमन गरेको थियो ।
पहिलो क्वाटरमा ५–४ ले पछि परेको एम्स दोस्रो क्वाटर सकिदासम्म १६–८ को फराकिलो अन्तरले पछि परेको थियो । तर तेस्रो क्वाटरमा एम्सले उत्कृष्ट पुनरागमन ग¥यो । तेस्रो क्वाटरमा एम्सले ११ अंक जोड्दा हिमालयन ५ स्कोर मात्र जोड्न सफल भयो । जसले गर्दा तेस्रो क्वाटर सकिदा एम्स एकेडेमीको २३ स्कोर र हिमालयन मेघाको २१ स्कोर भएको थियो।

निर्णायक चौथो क्वाटरमा एम्सले ८ स्कोर गर्दै ३१ र हिमालयनले ५ मात्र स्कोर गर्दा २६ मा सिमित भएको थियो । फाइनल खेलको म्यान अफ द म्याच एम्सका सितम लिम्बू घोषित भएका थिए ।
महिला बास्केटबल तर्फको उपाधी विष्णु मेमोरियल स्कुललाई पराजित गर्दै धरान आदर्शले जितेको छ । धरान आदर्शले प्रत्येक क्वाटरमा ४-८-६-२ स्कोर गरेको थियो भने विष्णु मेमोरियलले प्रत्येक क्वाटरमा ०-७-०-२ स्कोर गरेको थियो । फाइनल खेलको म्यान अफ द म्याच धरान आदर्शकी सुप्रिया गुरुङ घोषित भइन् ।

प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ट खेलाडी र हाइ स्कोरर एम्सका निशान तामाङ, उदयिमान खेलाडी धरान आदर्शका सौगात मगर घोषित भएका थिए । त्यस्तै महिला तर्फ उत्कृष्ट खेलाडी धरान आदर्शकी मलिका राई, हाइ स्कोरर धरान आदर्शकी निरुता राई र उदयिमान खेलाडी बिष्णु स्कुलकी रोशिका राई घोषित भइन् । उनीहरुलाई प्रमाण पत्र र ट्रफि प्रदान गरिएको थियो । प्रतियोगितामा सुनसरीका पुरुष तर्फ ९ र महिला तर्फ ४ टिमले सहभागिता जनाएका थिए ।
बिजेता तथा उपबिजेता खेलाडीहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरुलाइ प्रमुख अतिथी १८ नं. वडाका वडाध्यक्ष प्रविण राई, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरे, सचिव एवं हिसान स्पोर्टस् मिटका संयोजक सागर भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।








