धरान: सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा धरान फुटबल क्लब र राष्टिय जागृति क्लबले जित हात पारेको छ ।
इटहरी रंगशालामा आइतबार भएको पहिलो खेलमा धरान फुटबल क्लबले धरानकै टेम्के क्लबलाई २–० गोल अन्तरले हरायो । धरानको जितमा रिवश मास्के र सुगास जिमीले एक–एक गोल गरे । मास्केले खेलको १३ औ र जिमीले ३१ औ मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यानअफ द म्याच धरान फुटबल क्लबका सुगास जिमी घोषिता भए । उनले नगद नगद १ हजार ५ सय पुरस्कार पाए ।
यस्तै, दोस्रो खेलमा राष्टिय जागृतिले इटहरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो । जागृतिको जितमा अनिष चौधरी, स्मित तामांग र समिट कुमार चौधरीले एक–एक गोल गरे । अनिषले दोस्रो हाफको १४ औं, स्मितले ३३ औं र समिटले ३७ औं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याच समिट कुमार चौधरी घोषित भए । उनले पनि नगद १ हजार ५ सय पुरस्कार पाए ।
सोमबारको पहिलो खेल गोल्डेनस्टार क्लब दुहबी र गोधुली क्लब धरानबीच हुनेछ भने दोस्रो खेल एलेभेन एरो क्लब दुहबी र न्यु स्टार क्लब बराहक्षेत्र बीच हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिग पुष २५ गते सम्म चल्नेछ । लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको छ ।