धरान: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताएका छन् । 

धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई मंगलबार संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले देशभरिका पार्टीका कार्यकर्ताहरु एक भएर हिडेमा मात्र पार्टीमा पनि एकता हुने बताए । देउवाले भने,‘सबैको सहयोग विना पार्टी एक हुन सक्दैन, देशभरिका साथीहरु एक भएर हिडे मात्र पार्टी पनि एकढिक्का हुन्छ ।’

देउवाले पार्टीको भविष्य बनाउन पनि एकता जरुरी भएको बताए । साथै उनले पार्टीमा एकता भए मात्र सरकार पनि वलियो हुने बताए । पार्टी एकताको शुरुवात धरानबाट हुने पनि उनले अपेक्षा राखे । ‘धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नु भयो । अब पार्टी एकताको शुरुवात पनि धरानबाट हुनेछ भन्ने विश्वास लिएको छुँ,’पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले भने । 

सबैको सहयोगले पार्टी सभापति भएको खुलाउदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएको पनि बताए । उनले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताए । देउवाले भने,‘सबैको सहयोग विना पार्टी एक हुन सक्दैन । एक बनाउने दायित्व मेरो हो, र स्वार्थ पनि त्यही हो ।’