धरान: किरातीहरुको नयाँ वर्षको अवसरमा आयोजित थ्री वाइ थ्री अन्तर प्लस टु महिला बास्केटवल प्रतियोगिता सम्पन्न भएको छ ।
किरात राई यायोक्खा, सुनसरीको आयोजनामा शनिवार आयोजित एक दिने थ्री वाइ थ्री प्रतियोगिताको उपाधि धरान आर्दश कलेज ए टिमले उचालेको छ । उपाधिका लागि आर्दशले विष्णु मेमोरियल ए टिमलाई ८–५ अंकको अन्तरले पराजित गरेको थियो । उपाधि विजेता टिमले नगद ५ हजार रुपैया र उपविजेता टिमले नगद ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र हात पारेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विष्णु मेमोरियल ए टिमकी निवा चेम्जोङ घोषित भइन् । उनले नगद एक हजार र प्रमाणपत्र प्राप्त गरिन् । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल बास्केटवल संघका उपाध्यक्ष सुरजकुमार लामा, यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष सुमित्रा राई र सचिव नविन राईले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा धरान आर्दश एले धरान आर्दश विटिमलाई र विष्णु मेमोरियलले होलिल्याण्ड स्कुललाई सेमिफाइनल खेलमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान १९ स्थित हरियाली सामुदायीक वनको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।
माघ १ लाई किरातीहरुको नयाँ वर्ष यलम्वर संवत ५०८२ (यलेदोङ) मनाउदै आएका छन् । यो बर्ष यायोक्खा सुनसरीले यलम्बर सम्वत्लाई भव्यरुपमा मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको छ । जसअनुसार आज किरातीहरुको घर घरमा यायोक्खाको झण्डा फहराउने, किरात नयाँ वर्षको शुभकामाना सन्देशसंगै ८२ वटा बेलुन विजयपुर डाँडाबाट उडाउने, किरातीहरुको घरमा दिपावाली गर्ने र पौष ३० गतेको दिन धरानको भानु चौकमा विभिन्न जातिको परिकार सहितको स्टल सहितको भव्य स्टेज निर्माण गरेर सांगीतिक कार्यक्रम गरिनेछ ।