धरान: सर्वसाधारणहरुलाई अनलाइन अर्डर मार्फत फुड डेलिभरी एवं ई कमर्श क्षेत्रमा कार्यरत सप अर्डर कम्पनीले डिजिटल मेला आयोजना गर्ने भएको छ । 

सप अर्डरले धरानमा पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि १० गतेसम्म डिजिटल मेला आयोजना गर्ने जानकारी दिएको हो । अध्यक्ष सुमन लिम्बुका अनुसार भौतिकरुपमा मेला तथा उत्सवहरु आयोजना हुँदा भीडभाड बढी हुने र अहिले कोरोना संक्रमणको पनि उच्च जोखिम हुने भएकोले डिजिटल मेला आयोजना गर्न लागिएको हो । यसले संक्रमणको जोखिम हुने छैन भने घरमा नै बसेर सप अर्डरको एप वा वेभसाइटबाट, इन्टाग्राम र फेसबुकमार्फत पनि विभिन्न खानाको परिकारहरु अर्डर गर्न सकिनेछ । 

अध्यक्ष लिम्बुका अनुसार डिजिटल मेलामा सप अर्डरसँग आवद्ध भएका भेन्डरहरुबाट सामान अर्डर गर्न सकिनेछ । मेला अवधिमा बिशेष गरि होटल तथा रेष्टुरेष्टहरुको स्पेशल फुड आइटमहरु अर्डर गर्न सकिने उनले बताए । हालसम्म सप अर्डंरले धरानका ४५ वटा भेन्डरहरुसँग सम्झौता गरेको पनि अध्यक्ष लिम्बुले बताए । 'हाम्रो एपमा भएको होटल, रेष्टुरेष्टबाट खाना खाजा अर्डर गर्नसक्नुहुन्छ,' उनले भने । 

डिजिटल मेलामा विभिन्न आकर्षक बम्पर उपहारहरु पनि भएको आयोजकले जनाएको छ । साथै, मेला अवधिभर सप अर्डरसँग आवद्ध भेन्टरहरुबाट अर्डर गर्दा ६ देखि २० प्रतिशतसम्म पनि छुटको व्यवस्था रहेको सिईओ रेमन नेम्बाङले बताए । यो अवधिमा होम डेलिभरी निःशुल्क दिइने पनि उनले बताए । मेला अवधिमा बिहान ११ बजेदेखि राती ८ बजेसम्म डेलिभरी सेवा दिइनेछ । अर्डर अग्रिम पनि गर्न सकिने नेम्बाङले बताए । 

मेला अवधिमा हरेक दिन स्पेशल फुड डे आयोजना हुनेछ । जसमा स्पेशल एक जना लक्की विजेताले स्पेशल फुड आइटम उपहार जित्ने पनि उनको भनाई छ । मेलाको अन्तिम दिन ४ जना भाग्यशाली विजेताहरुले २४ सयसम्मको सप अर्डर भौचर पनि जित्नेछन् । उक्त भौचर प्रयोग गरेर सप अर्डरसँग आवद्ध जुनसुकै होटल तथा रेष्टुरेष्टबाट आफ्नो भौचर प्रयोग गरि बिल तिर्न सक्ने पनि सिईओ लिम्बुले बताए । 

सप अर्डंरका अनुसार धरानका फ्रेण्ड्स गार्डेन, मात्र मःम, हङ्गर हण्ट मट्का बिरियानी, ओलिभ क्याफे, होटल गजुर प्यालेस, चौतारी, उत्सव, गुरुङ बिबिक्यु, बर्गर हाउस, झोल मःम, ब्रिक क्याफे, धरान किचेनलगायत विभिन्न होटल, रेष्टुरेष्टहरुको परिकारहरु डिजिटल मेलामा अर्डर गर्न सकिनेछ ।