धरान:नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना स्थगित भएको छ । 

इनरुवास्थित जिल्ला पार्टी कार्यालयमा बुधबार दिउँसो करिब सवा १ बजेदेखि पदाधिकारीहरुको शुरु भएको मतगणना शुरु भएको थियो । अधिवेशन प्रचारप्रसार उपसमितिका सहसंयोजक रवि खनालका अनुसार १७३ मत गणना सकिएपछि गणना कार्य स्थगित गरिएको हो । बाँकी गणना बिहिबार बिहान साढे १० बजेदेखि हुने सहमति भएको पनि उनले बताए । चिसो अत्यधिक बढेको कारण नेताहरुबीचमा बिहिबार बाँकी मतगणना गर्ने गरि स्थगित गरिएको उनले जानकारी दिए । 

निर्वाचन कमिटीका सदस्य विरेन्द्र बाबु बस्नेतले पनि नेताहरुबीच सहमतिमा नै मतगणना कार्य स्थगित गरिएको बताए । अत्यधिक चिसो बढेको कारण मतगणनालाई स्थगित गरिएको उनले बताए । 'राती पनि भयो, र चिसो असाध्यै बढी भयो । गणकहरुलाई गाह्रो हुने भएकोले नेताहरुसँग सल्लाह गरेर नै स्थगित गरिएको हो, अब भोली बिहिबार बिहान साढे १० बजेदेखि शुरु गर्छाै,'उनले भने । 

अध्यक्षमा भण्डारी अगाडि

पदाधिकारीको हालसम्म १७३ मत गणना भएको छ । त्यसमध्ये अध्यक्षका प्रत्यासी रेवतीरमण भण्डारीले ८७ मत पाएका छन् भने अर्का प्रत्यासी खेमराज पोखरेलले ७६ मत पाएका छन् । अर्का उम्मेदवार द्धारिकलाल चौधरीको १० मत रहेको छ । भण्डारी र पोखरेल दुवै संस्थापन पक्षका हुन् । निर्वाचनमा सहमति नभएपछि पोखरेल १० बुँदे पक्षको समर्थनमा अध्यक्षमा उठेका हुन् । चौधरी भने पुष ५ को घटना पश्चात कुनै पक्षमा खुलेका थिएनन् ।

यस्तै, उपाध्यक्षमा संस्थापन पक्षका निलम खनाल धेरै मतान्तरले अगाडि छन् । उनले १०३ मत ल्याउदा १० बुँदे पक्षका उम्मेदवार नन्द बस्नेतको मत ६९ रहेको छ । २ उपसचिव पद ७ जनाको उम्मेदवारी रहेकोमा हालसम्म राम कोइरालाले सबैभन्दा बढी ८९ मत पाएका छन् भने अञ्जनीकुमार पोखरेल र योग्यराज खड्काको समान ५३ मत रहेको छ। यस्तै, लोकेश निरौलाको ५२, पदमप्रसाद लिम्बुको ३६, अर्जुन गहतराजको २८ र लहरुमाया जिमीको १६ मत छ ।