विराटनगर: संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले आममानिसको जीवन निष्क्रिय नबाई कोभिडविरुद्ध लड्ने स्पष्ट पारेका छन् । 

आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले अहिलेको अवस्थामा सकेसम्म भीडभाड नगर्न अपिल गर्दै भीडभाड हुने स्थानलाई व्यवस्थित गर्ने योजनाका साथ सरकार प्रस्तुत हुने बताए । 

उनले कोभिडविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको खतिवडाले प्रष्ट पारे । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले बताए । 

प्रदेश सरकारलाई सहयोग गर्न मुख्यमन्त्री राईको आग्रह

प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सीमित बजेटबाट कोभिडविरुद्ध लड्दै आएको प्रदेश सरकारलाई सहयोग गर्न संघीय सरकारलाई आग्रह गरेका छन्। संघीय सरकार समेतको सहयोगमा कोरोनाविरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको पनि मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले कोभिडको तेस्रो लहरलाई प्रदेश सरकार अत्यन्त सुझबुझका साथ सामना गर्ने पनि उनले बताए । आर्थिक गतिविधिलाई पनि क्रियाशील राखेर कोभिडको तेस्रो लहरलाई सामना गर्नुपर्ने मुख्यमन्त्री राईको भनाई थियो । 

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश नं. १ का जनसंख्या कम भएका पहाडी र हिमाली जिल्लामा खोप लगाउने प्रतिशत राम्रो भएको जानकारी दिए । तराईकै जिल्लामा खोप लगाउनेको संख्या कम भएकोमा अब प्रभावकारी योजनामार्फत खोप लगाउने लक्ष्य पूरा गरिने उनले बताए । 

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश नं. १ मा कोभिड १९ वर्तमान अवस्थाका बारे जानकारी दिएका थिए । उनका अनुसार माघ १ गतेसम्म प्रदेश नं. १ मा संक्रमितको संख्या एक लाख ५४ हजार एक सय ६१ पुगेको छ । प्रदेशमा ६ लाख ६७ हजारले पीसीआर र एन्टिजेन परीक्षण गराएका छन् । अहिले प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या एक हजार तीन सय ९७ छ । कोभिडका कारण प्रदेश नं. १ मा दुई हजार एक सय ९६ जनाको मृत्यु भएको छ । प्रदेश नं.१ मा विभिन्न खोप गरी पहिलो डोज लगाउनेको संख्या २६ लाख र दोस्रो डोजसहित पूर्ण खोप लगाउनेको संख्या १७ लाख ५० हजार पुगेको छ ।