विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बिहिबार बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले उपचारका लागि जिल्ला अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । मन्त्रिस्तरीय बैठकले बिहिबार नै १४ वटा जिल्ला अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि निर्देशन जारी गर्ने निर्णय पनि गरेको छ ।
संक्रमितको उपचारका लागि उपकरण तथा स्वास्थ्य सामाग्रीहरु अस्पतालहरुले प्रवन्ध गर्ने र आवश्यक सामग्रीहरु मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको छ । बैठकले सामुदायिक तथा निजी अस्पतालहरुलाई पनि कोरोना संक्रमितको उपचारका लागि आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतको सहभागिता रहेको थियो ।