धरान: धरान उपमहानगरपालिकाले वडामा पुगेर नै गुनासो सुन्न थालेको छ । 

उपमहानगरपालिकाले वडामा भएका विकास निर्माणबारे अन्तरक्रिया गर्दै जनताको सुझाव तथा गुनासो सुन्न थालेको हो । मेयर तिलक राईको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कट्वाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहितको टोलीले शुक्रबार वडा नं ६ पानवारीमा अन्तरक्रिया गरेको थियो । 

वडा नं ६ का अध्यक्षसहित जनप्रतिनिधि, नागरिक अगुवा, समाजसेवी तथा वुद्धिजिवी, वडाका राजनीतिक दलका प्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया भएको उपमहानगरले जनाएको छ । उपमहानगरपालिका र वडा कार्यालयले दिएको सेवा सुविधाको विषयमा स्थानीयबासीसँग स्थलगत रुपमा भेटेर अन्तरक्रिया गरिएको मेयर राईले बताए । यो अभियान वडा नं ६ बाट शुरु भएको र धरानको सबै २० वटा वडामा हुने पनि उनले बताए । 

अन्तरक्रियामा स्थानीयबासीहरुले घरनक्सामा फाईल नभेटिएको, बोलाएको समयमा प्राविधिक नआएको कारण घरनक्सा पास नभएको गुनासो राख्दै चाडै समस्या समाधान गर्न पनि आग्रह गरेका थिए । मदन भण्डारी राजमार्गको मापदण्ड यकिन नभएको कारण कर तिर्न नपाएको गुनासो वडा ६ का बासिन्दाले गरेका छन् भने सरस्वती माविमा कक्षा कोठा अभाव तथा भवनको समस्या र शान्ति मन्त्रालयबाट आएको रकम हराएको बारे पनि स्थानीयबासीहरुले बताएका थिए । 

पानवारी चौकस्थित बिजुलीको पोल ढल्नसक्ने र उक्त पोलका कारण तिन घर परिवार जोखिममा रहेको कारण बिजुलीको पोललाई चाडै व्यवस्थापन गर्न पनि स्थानीयबासीले आग्रह गरेका थिए । ज्येष्ठ नागरिक भवनलाई पनि नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने उनीहरुको भनाई थियो । 

मेयर राईले प्राथमिकिकरण गरेर २० वटा वडामा राजश्व, भूगोल, जनसंख्या हेरेर बजेट छुट्टाएको जानकारी दिए । साविक पाँचकन्या र विष्णुपादुका पर्ने वडाहरु ४, ५, ६ र वडा २०,१७ मा अरु वडाको तुलनामा २०/२० लाख बजेट बढी दिएको पनि मेयर राईले बताए । उनले आवश्यकताहरु बढी भएको हुनाले विविध कारणले स्रोतहरु बढाउन नसकेको बताए ।