मोरङ: राष्ट्रिय युवा संघ नेपाल मोरङले विभिन्न ४ सूत्रीय माग राख्दै मोरङको प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र बुझाएको छ । 

 संघका मोरङ संयोजक मनोज राईको नेतृत्वमा सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालमार्फत प्रधानमन्त्रीलाई विभिन्न विषयमा ज्ञापन–पत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दा समेत वर्तमान सरकारले कुनै प्रतिकृया नदेखाएको भन्दै खेद प्रकट गरिएको छ । उक्त क्षेत्रमा सडक निर्माण गर्न तत्काल रोक लागइ भारतीय सेना र कर्मचारी फिर्ता पठाउनु पर्ने पनि संघको माग छ । 

यस्तै पेट्रोलिय पदार्थ लगायत दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि फिर्त लिन समेत ज्ञापनपत्रमा माग गरिएको छ भने नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रौतहटको गौरमा नागरिकको ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै तत्काल वर्खास्त गर्न माग गरिएको छ । 

यसैगरि वर्तमान सरकारले संविधानको भावना विपरित स्थानीय तहको निर्वाचन सार्ने बहानाबाजी गरिरहेको भन्दै तत्काल संविधान बमोजिमको मितिमा निर्वाचन घोषणा गर्न पनि माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ दाहालले राष्ट्रियता र समसामयिक विषयमा ज्ञापनपत्र प्राप्त भएकाले तत्काल प्रधानमन्त्री समक्ष पुर्याउने बताए। उनले कोरोनाको जोखिमको समय रहेकाले त्यसलाई मध्यनजर गरेर मात्रै विरोधका कार्यक्रम गर्न समेत आग्रह गरेका थिए । 

 ज्ञापन पत्र बुझाउन संघका केन्द्रीय सदस्य सुमन मिरिङचिङ, मनिश श्रेष्ठ, पूर्व कोषाध्यक्ष मुकेश बुढाथोकी, जिल्ला कमिटी सदस्य प्रविण घिमिरे, लक्ष्मण बुढाथोकी, विराटनगर अध्यक्ष किरण लामा, सुन्दरहरैंचा अध्यक्ष जयप्रकाश रायमाझी, रंगेली अध्यक्ष बमलाल खवास लगायतको समेत उपस्थिति रहेको थियो।