धरानः कोरोना संक्रमित धरानका एक पुरुषको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दीर्घ रोगी रहेका मृतकको हिजो राती ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो । मृतकले कोभिड १९ विरुद्धको खोप लगाएको पनि प्रतिष्ठानले जनाएको छ । 

उनलाई माघ ६ गते कोभिड संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पताल भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । मृतकको शवको व्यवस्थापन नियम अनुसार भएको पनि प्रतिष्ठानको भनाई छ ।