धरान: धरान १७ स्थित उदय समुदायिक वनमा रहेको कर्भड हल मर्मत सम्भार गरिने भएको छ। 

सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुनाको रुपमा रहेको कर्भड हल बनेको १३ वर्ष पछि मर्मतसम्भार हुन लागेको हो । उदय सामुदायिक वनलाई खेलकुद पर्या पर्यटनको रुपमा विकास गर्ने उद्धेश्यले कर्भड हललाई मर्मत सम्भार गरेर स्तरउन्नति गर्न लागिएको वन समुहका अध्यक्ष जसकुमार राईले बताए । वातावरण संग जोडिने र रुख विरुवाहरु पनि नमासिने हुनाले वनलाई खेलकुद पर्या पर्यटनसँग जोड्न लागेको राईको भनाई छ ।

    कर्भड हलमा अहिले व्याडमिन्टन, कराते खेलहरु हुने गरेको छ भने हल बाहिर भलिवर र टेवलटेनिस खेलहरु हुने गरेको छ । चाडै बास्केटवल, भलिवल, खुला चेस वोर्ड, सेपाकटेक्रो, एस्सरसाइज, वाक र रनिंग गर्ने स्थलको पनि निर्माण गर्ने योजना रहेको वन समुहका सचिव लहरुमाया जिमीले बताइन् । उनका अनुसार यस योजनाले उपभोक्ता वन समुदायको सामाजिक उत्तरदायित्व पनि निर्वाह हुनेछ भने आसपास क्षेत्रको खेल विकास हुनेछ । यस्तै स्थानीय युवाहरुलाई खेल क्षेत्रमा आकर्षण गरि कुलतमा फस्नबाट जागिने र यसै माध्यम बाट वन उपभोक्ता समुहको आयस्रोतमा समेतमा टेवा पुग्ने वन समुहको अपेक्षा छ । 

uday1

      कर्भड हल मर्मत सम्भारका लागि शुक्रवार उदय वन उपभोक्ता समुहको कार्यलयमा भेलाको आयोजना गरि आर्थिक उपसमिति समेत निर्माण गरिएको छ । समुहका अध्यक्ष जसकुमार राईको संयोजकत्वमा ९ सदस्यीय उपसमित गठन गरिएको छ । सचिवमा लहरुमाया जिमी, कोषाध्यक्ष मनोज विष्ट र सदस्यहरुमा नारद राई, विकास चाम्लिङ राई, रमेशचक्र खड्का, रामकुमार भट्टराई, अमित राई र उमेश भण्डारी रहेका छन् । 

     समितिले वैशाख भित्रमा मर्मत सम्भारको कार्य सक्ने पहिलो वैठकबाट निर्णय गरेको छ । कर्भड हल काठैकाठले बनिएकोले यसलाई मक्किन नदिन तथा हलको आयु बढाउनलाई पहिलो प्राथामिकतामा बहिरी र भित्रि भागमा रंगरोगन गर्ने साथै टुटफुट भएकाहरुको मर्मत गर्ने समितिले जनाएको छ । यसको लागि करिव पाँच लाख रुपैया लागत लाग्ने समितिका कोषाध्यक्ष मनोज विष्टले भेलालाई जानकारी दिए ।

अनुमानित लागत वन समुहका सदस्य, स्थानिय निकाय, धरान १७ नं. वडाका विभिन्न संघसंस्था एवं इच्छुक सहयोगी जनसमुदायहरुवाट संकलन गरिने समितिका कोषध्यक्ष विष्टले जनाए । सोही भेलामा समितिका सदस्य नारद राई र कोषाध्यक्ष विष्टले नगद दश हजार रुपैया समितिका संयोजक जसकुमार राई र सचिव लहरुमाया जिमिलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।

तस्विरः विकास चाम्लिङ राई

uday2